Tuesday, May 19, 2020

समय र शून्य खेती

समय र शून्य खेती 

(साहित्य पोष्टमा प्रकाशित )

कविता

उमेरको तस्वीर खिच्दै बसेका मान्छेहरूलाई
एकाएक पछ्यायो मृत्युको भयले
यो कुनै थ्रिलर मुभिको छोटो कहानी जस्तो मात्र पनि भएन

बस्तितिर उड्दै आइरहेको काँचो बतासमा
त्रासको गन्ध
यसभन्दा अघि उत्ति थिएन

मानिसहरू सम्मोहनको पर्दाभित्र
उत्तेजित बाँचिरहेथे
उक्लिएर नसकिने अहम् को पहाड
उडेर नपुगिने महत्वाकांक्षाको क्षितिज
बनाइरहेथे क्रमश : क्रमश :

एकाएक
रोकियो समयको गति

तर उता
उहिले उहिले झैँ नै
सन्नाटामा झ्याउँकिरीहरू कराइरहेछन्
लाटोकोसेराहरू आफ्नै नियमिततामा छन्
बिच्छी खजुराहरूका दैनिकी बदलिएको छैन
लामखुट्टेहरू उस्तै गतिमा छन्
सर्पहरूको सल्याङमल्याङ कायम छ

बरु यस युगमा
मान्छेहरू पो थिए कि ?
सबैभन्दा विषालु
र समय प्रतिशोध लिइरहेछ ।

सत्तामा चिप्लेकीराहरू टाँसिएकै छन्
तिनका फिँजलाई
अमृतको थोपा सम्झिने समयका अनुवादक
बताइरहेछन् –उल्टो कथा

युग गँड्यौलाझैँ मुस्किलले घिस्रिरहेछ

जो थिए
अर्को क्षितिज टेक्न हिँडेकाहरू
रोकिए बिचतिरै

तर बाटाहरू उसैगरी तेर्सिएका छन्
जो लान चाहन्छन् मानिसहरूलाई टाढा टाढा
आकाश जताततै खुला छ
जो भन्न चाहन्छ मानिसलाई –नाघ्दै जानू परिधि
बगिरहेछ बतास
बहिरहेछ नदी
जो सिकाइरहेछन् मानिसलाई गतिको परिभाषा


मानिस
सम्झेर आफ्ना पुराना दिनहरू
च्यापेर कच्याककुचुक अनुहार
बसेको छ नियतिको कुनामा
र गरिरहेछ –शून्य खेती

मान्छे’ जातिको परिचय टाँसेर
म अर्थात् –एउटा मानिस
निरिहताको अर्को अध्याय पढिरहेछु ।

तर सपना देख्न भने छाडेको छैन ।

समृद्ध समाजको असल यात्रा

समृद्ध समाजको असल यात्रा सुवास खनाल  - ४ हप्ता अगाडि Facebook Twitter Pinterest WhatsApp   Share   Tweet   Share   Share अहिलेको समयलाई सूचन...

Search This Blog