Tuesday, January 29, 2019

फरक आकाशमाथि सामान्य प्रक्षेपण ।

फरक आकाशमाथि सामान्य प्रक्षेपण ।

सुवास खनाल

तुल्सी थापा मकवानपुरको मात्र नभएर समग्र नेपाली साहित्यमा प्रभावशाली उपस्थिति हो । तर उनी त्यत्ति सिन मुडमा रहँदैनन् । थापा अन्तर्मुखी र शालीन व्यक्तित्व हुन् । लेखनमा यस पक्षको परावर्तन देखिन्छ । थापाकृत लेखनीको प्रकाशित पुस्तकहरुमध्ये ‘फरक आकाश’ तेस्रो कृति हो । यसअघि उनका ‘एक निमेष अनन्तका’े दाना कवितासङ्ग्रह र ‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक प्रकाशन भइसकेको छ ।
फरक आकाश कथाहरुको सङ्ग्रहित रुप हो । यस सङ्ग्रहमा उनका एघार कथाहरु छन् । मूलत ः कथामा सामाजिक विषयवस्तुहरुलाई नवीन शैलीमा प्रस्तुत गरिएको देखिन्छ ।  कथाका वाक्यहरु नै कवितात्मक र कतिपय त सुक्ति झैँ अनुभूत हुन पुग्दछन् । तुल्सी थापा लेखनमा उत्तिसाह्रो हतारो रुचाउँदैनन् र झिना विषय वस्तुहरुलाई पनि अत्यन्तै गम्भीर ढङ्गले उठाउँछन् । सरल कथाका अपेक्षा राख्नेहरुले उनीबाट त्यस्तो अपेक्षाअनुरुप टेस्ट प्राप्त नगर्न पनि सक्छन् । समीक्षक घनश्याम घिमिरे भन्छन् –‘थापाको लेखनी स्याउ खाएजस्तो सोझै स्वाद प्राप्त हुने किसिमको छैन बरु हाडे ओखर फोरेर खाएजस्तो वा नरिवलको जट्टा फुटाएर नरिवल र यसको पानी प्राप्त गरेझैँ छ ।’
थापा ‘एक बोझिल बिहान’ कथामा फोहोर सफा गर्ने फोहोरी नभई फोहोर गर्नेहरु फोहोरी हुन् भन्ने सन्देश दिन चाहन्छन् । उनी यस  कथामा सडकमा फोहोर बढार्ने पात्रहरुलाई प्रयोग गर्छन् । ती पात्रहरुको दैनन्दीन खोतल्दै देशको फोहर सफा गर्न सामान्य नागरिकहरुको जति योगदान छ त्यत्ति उच्च पदमा आशिनहरुको नभएको प्रतिकात्मक सन्देश दिन्छन् । सामान्य लाग्छ तर असामान्य प्रश्न हो–‘ फोहोर के हो ?’
‘अधूरो कथाहरुको अन्त्य ’ कथाकारको निराशाको स्वर प्रतिध्वनित हुने कथा हो तर पनि यो कथाको माध्यमबाट धेरै कुराको आँकलन गर्न सकिन्छ । नेपालमा साहित्य लेखेर वा लेखक मात्र बनेर बाच्नुँ अपवाद सिद्ध छ र लेखक हुनु भनेको सामाजिक पात्रताको हिसाबले उत्ति साह्रो सहज छैन भन्ने परिवेश चित्रण छ ।
अस्विकृत स्वरुप कथा निकै घनत्व भएको कथा हो । कथाकार यस कथामार्फत वास्तविकता वा प्रकृति नै सर्वमान्य सत्य हो । अरु भ्रम हुन् वा तात्कालीक सत्य मात्र हुन् भन्ने सन्देश दिन्छन् । केही अनौठा संवादहरु जो यस कथामा प्रयोग भएका छन् , दर्शन चेतले युक्त लाग्छन् ।
पाल –१ भित्र
“आज दिनभरि के ग¥यौ ?”
“ढुङ्गासँग कुरा गरिरहेँ ”
“ढुङ्गा बोल्यो ? ”
“बेलेको छैन बोल्छ होला । ”

पाल –३ भित्र

“कसको मूर्ति बनाउनेछौ ”
“बिन लादेनको ? ”
“जर्ज बुसको पनि बनाउने कि? ”
“................ ”
“................ ”
“हो उसको पनि । एकअर्काका परिपूरक । सुझावका लागि धन्यवाद । ”

एउटा फरक आकाश तुल्सी थापाको कथासङ्ग्रहको शीर्षक कथा पनि हो । यो कथा एकजना पुरुषसँग वितृष्णा जागेको महिला जो पति बनाउन चाहन्नन् तर आमा बन्न चाहन्छिन् । तिनैको कथा हो र यस निम्ति एक साहसी र आत्मविश्वासी पुरुषको वीर्य चाहन्छिन् तर उनको अपेक्षित पुरुषले वीर्य प्रदान नगरेर सडक बालबालिका वा असहाय बालबालिकालाई बच्चाको रुपमा ग्रहण गर्न अभिप्रेरणा जगाइदिएको घटनासँग सम्बन्धित विषय छ ।, यो कथा अलिक नाटकीय र चलाखिपूर्ण लाग्छ । पूर्विय संस्कारको अलिक बढी डोमिनेसनको मानसिकता प्रस्तुत भएको अनुभूति हुन्छ । सेक्सलाई असामान्यिकरण गर्न खोजेझै लाग्छ ।

सँगै छुट्दै गरेका क्षणहरु पढ्दै गर्दा कथाकार तुल्सी थापाको स्वभाव पढ्न पाएझैँ अनुभव हुन्छ । पाठक उदय अधिकारी कुरा उठाउँछन् –“तुल्सी थापा ज्ञानको ठूलो नदी हो तर फाइदाकारी हुन त नहर बनेर बग्नु पनि पर्छ । यो अपेक्षालाई कहिलेकाहीँ इन्कार गरिरहेझैँ लाग्छ । “ यो कथाले पनि त्यही विश्वास जगाउँछ तुल्सी थापा बढ्ता आफ्नो गति मात्र मन पराउँछन् । तर योचाहीँ पक्का हो उनी आफ्नो गतिसँग विश्वस्त छन् र त्यसले उनलाई दुर्घटित पनि बनाएको छैन ।

प्रश्नहरु अझै रुमल्लिएकै छन् ,हाम्रो समाजको हराएको गतिबोध माथिको शालीन व्यङ्ग्य हो । यो समाज बढी गतिशील रहन चाह्यो तर त्यो गतिको सार उत्रो सही निस्केन । त्यसैले परिवर्तन गर्ने ,विषय सही हो तर किन वा के का लागि वा कसरी यी पक्षहरु कहिल्यै छलफलमा आएनन् । यस कारण समाजमा समस्या छ । उनको यो कथा यही बताउँछ ।

शब्द निशब्द कोलाज अलिक दुर्बोध्य अनुभूत हुन्छ । यो कथामा पनि मानवीय जीवनको विद्रोह बोलेको छ ।

सम्बन्धका विकिरण सम्बन्धका विविध आयामलाई चिरफार गर्ने कथा हो । सम्बन्धहरु जीवन यापनका निम्ति सहायक चिज हुन् तर सम्बन्धहरु धेरै जटील हुँदै जान्छन् र त्यही सम्बन्धको अल्झोले मानिसलाई सताउँछ । सम्बन्धका पुलहरु तर्नै नसकिने भइदिन्छन् ।

“ जेल भित्र मुक्तिको खोजी ? ”
“ बहुलाको सपनाजस्तो  ”
 उन्मुक्तिको जेल यात्रा कथाले जेल भनेको समयलाई प्रायोजित र नियोजन गर्न खोज्नेहरुको खेल पनि हो   भन्ने बताएका छन् ।

बास्तवमा हामी कसलाई चिनिरहेका छौँ ? सबैले सबैलाई भेटिरहेका छन् देखिरहेका छन् तर चिन्न सक्दैनन् । चिनिने कुरा एक भ्रम जस्तो हो यिनले यो कथामा यस्तै अवस्था सिर्जना गर्न खोजेका छन् ।

समग्रमा तुल्सी थापाको यो कथा सङ्ग्रह नेपाली कथामा छुट्टै स्थान राख्न सक्ने सङ्ग्रह हो । प्रयोगपरकता , विद्रोहका कुरामा नि भद्र विद्रोहको प्रस्तुती ,दर्शनको प्राचुर्य उनको लेखनीका उल्लेख्य पक्ष हुन् । समसामयिकताका दृष्टिले हेर्दा भने कथामा समयको स्वर बलियो देखिनु जरुरी हुन्छ झैँ अनुभूति हुन्छ ।


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog