Tuesday, March 31, 2020

समृद्ध समाजका सुरेश श्रेष्ठले समृद्ध समाजको अनलाइनको लागि लिनुभएको अन्तवार्ता



                                                              साहित्यकार सुवास खनाल
विज्ञानका विद्यार्थीले साहित्यमा कलम चलाइरहनु उत्सुकता र रोचक विषय हो । बकैया गाउँपालिकाको छतिवनमा जन्मे, हुर्केका सुवास खनाल पेशाले विज्ञान विषयको शिक्षक हुनुहुन्छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमण नभएको भए चैत २१ गते शुक्रबार खनालको दोस्रो कृति ‘सपनाका अवयव’ सार्वजनिक हुने कार्यक्रम थियो । देश लक डाउनमा रहेका बेला कृतिको विमोचन हुने स्थिति देखिँदैन । लक डाउनमा कविता कृति विमोचन गर्न नपाउनुभएका साहित्यकार सुवास खनालसँग समृद्ध समाज डटकमका सम्पादक सुरेश श्रेष्ठले लिनुभएको अन्तरवार्ताः

समाज : दोस्रो कृति ‘सपनाका अवयव’ विमोचन प्रभावित भएको छ । साहित्यकारको रुपमा रचना सार्वजनिक हुन नसक्ने स्थितिमा कस्तो महसुस गरिरहनुभएको छ ?
खनाल : चीनको बुहानबाट सुरु भएको कोरोना अहिले सम्पूर्ण विश्वलाई प्रभावित गरिरहेछ । किताबको तयारी हुँदै गर्दा चैत २१ लाई ध्यान पुर्याइएको हो । त्यही अनुसार योजना बनेको थियो । परिस्थिति त्यस अनुकूल विकास भएन । कोरोना आतङ्कबाट हाम्रो देश पनि प्रभावित छ । मानिसका लागि पहिलो कुरा आफ्नो जीवन हो । जीवनको सन्त्रास बोकेर कोही कसैले अन्य क्रियाकलापमा संलग्न हुन सक्छन् भन्ने लाग्दैन । देश पूर्ण लक डाउन छ । त्यस हिसाबले पनि यो पुस्तक पूर्व निर्धारित योजना अनुरुप सार्वजनिक हुन नसक्नु स्वभाविक रह्यो । उत्साहका साथ लागि राखिएको काममा बीचमा व्यवधान आउँदा केही असहज जस्तो त अनुभव हुन्छ नै । तर त्यो भन्दा ठूलो कुरा हामी मानवहितका लागि कलम चलाउँछौं भन्नेले पहिलो आवश्यकता जीवन सञ्चालन हो भन्ने बुझ्नु र मनन् गर्नु जरुरी छ र सार्वजानिक हुन नसकेको परिस्थितिलाई पनि त्यही अनुसार नै लिएको छु ।

समाज : ‘सपनाका अवयव’ ले कस्ता सपनालाई समेटेको छ ?
खनाल : ‘विचारको उल्टो नदी’ २०७१ मा प्रकाशन भइसकेपछि लेखिएका ३३ वटा कविताहरू आउँदै गरेको कविता सङ्ग्रह ‘सपनाका अवयव’ मा रहने छन् । सामयिक सन्दर्भलाई नै प्राथमिकताका साथ कविताको विषय बनाउन मन लाग्ने रुचिअनुसार बढीजसो कविताहरूमा यस समयको चित्र नै आउँछ भन्ने सोच्छु । मूल व्याख्या त पाठक तथा समीक्षकबाट नै आउला । यस कविता सङ्ग्रहमार्फत मेरो मूल सङ्केत भनेको हामी ठूला सपनाका पहिरोले नथिचिऊँ, बरु स–साना सपनाका अवयवहरू जोडेर युग निर्माणको सिङ्गो सपना निर्माण गरौं भन्ने हो । म भारतका पूर्व राष्ट्रपति एपिजे आब्दुल कालमको ‘सपना त्यो हो जुन निदाउँदा देखिँदैन बरु सपना त्यो हो जसले हामीलाई निदाउन दिँदैन ।’ भन्ने भनाइसँग सधंै द्रवित हुने गर्दछु र आफूलाई जहिल्यै व्यवहारवादी सपनाको सम्मोहनमा जिवित एक प्राणी हुँ भन्ने अनुभूति गर्छु । यस कविता सङ्ग्रहमा पनि सपनाका यस्तै सोचहरू प्रतिबिम्बित भएको देखिएँ भने आफूलाई सही सम्झिनेछु ।

साहित्यकार सुवास खनालको प्रकाशोन्मुख कृतिको कभर ।

समाज : साहित्यकारको आँखाले कस्ता सपना देख्दछ ?
खनाल : हुन त कविहरू देश निकाला गर्न योग्य पात्र हुन् भनेर बेलाबेला शासकीय आँखा प्रदर्शन गरिएको र त्यसअनुसार व्याख्या विश्लेषण हुने गरिएको पाइन्छ । यसो हुनुमा कवि तथा लेखकहरूको प्रतिपक्षी चेतले भूमिका निर्वाह गरेको हो । एउटा समाजलाई सही बाटोमा हिँडाउन सही समयमा सही ढङ्गले खबरदारी गर्नु जरुरी छ । त्यो जिम्मेवारी सचेतताका साथ कवि लेखकहरूले लिनुपर्दछ । कविहरूले समाजमा सबैले देखेको जत्तिमात्र नदेख्न पनि सक्छन्, त्यो भन्दा टाढाका सपनाहरू देशलाई देखाउनु पनि उनको दायित्व हुन आउँछ । आजको समाजमा देखिएका विद्रुपताहरूको अन्त्य गरी वैज्ञानिक र चेतनशील समाज निर्माणका सपना नै साहित्यकारका सपना वा मेनिफेस्टो बन्नुपर्छ भन्ने सोच्छु । अथवा उनीहरूले देख्ने सपना त्यसैअनुरुप हुनुपर्छ भन्ने लाग्छ ।

समाजः यो विपद्मा साहित्यकारको रुपमा तपाइँले के कल्पना गरिरहनुभएको छ ?
खनालः विश्वको मानव समूदाय र सभ्यता एकाएक र एकैदिनमा निर्माण भएको होइन । यसको हजारौं वर्षको इतिहास छ । यसबीच थुप्रै सङ्कटहरू मानव सम्प्रदायले भोगेको छ । यस्ता सङ्कटहरू मूलतः दुई किसिमका देखिन्छन् । प्राकृतिक र मानवनिर्मित । अहिले पछिल्लो समयका केही घटनाहरू हेर्दै गर्दाचाहीँ प्राकृतिक सङ्कटको स्वरुपमा देखिए पनि त्यसको इन्डक्सन फ्याक्टर (उत्प्रेरक) चाहीँ मानवीय क्रियाकलाप बन्न पुगेको छ । कोरोना पनि (केही आक्षेप र शङ्का गरिएबाहेक) मानव क्रियाकलापले इन्डक्सन गरेको प्राकृतिक सङ्कट हो । त्यसमा हामीले नै हामीलाई सुरक्षा दिन सक्छौं । कतिपय सङ्कटहरू मिलेर सामना गर्ने हुन्छन् भने यसमा चाहीँ नीतिगत रुपमा एक ठाउँमा उभिए पनि व्यक्तिगत रुपमा आइसोलेसनबाट सामना गर्नुपर्छ । यसरी सामना गरेर बस्ने क्रममा यो सङ्कट क्षणिक हो । लामो सङ्घर्षबाट यहाँ आइपुगेको मानव समाजको अस्तित्वमा यसको प्राविधिक क्षति देखिएको छ र यो दुखलाग्दो कुरा पनि हो तर पनि मानव सभ्यताको गुणात्मक क्षति हुँदैन भन्ने लाग्छ ।

समाज : पहिलो कृति र दोस्रो कृतिमा पाठकले साहित्यकार सुवास खनालका रचनामा के फरक पाउनेछन् ?
खनाल : टाइम फ्रेम फरक भएकाले लेखनका सन्दर्भहरू फरक पर्ने त छँदै छन् । वैचारिक लेखन नै मेरो रुचि हो । पुरानो कविता सङ्ग्रह र यसमा भएका कविताको आधार तत्व त विचार वा तर्क नै हो । तर्कका सन्दर्भहरू फरक छन् । कविताले आजको समयको परावर्तन गर्नैपर्छ तर त्यो दीर्घायु कति हुन्छ भन्ने हुन्छ । कविताको आयुलाई पनि ख्याल गर्दै समयसँग जोडिने प्रयत्नमा सधैं हुने गर्छु । यो कविता सङ्ग्रहमा पनि त्यही प्रयास भएको छ । भाषाका हिसाबले पनि पहिलेको भन्दा अपेक्षित सरल नै छ भन्ने अनुभूति गरेको छु ।

समाज : पहिलो कृतिको व्यावसायिक सफलता कस्तो रह्यो र दोस्रो कृतिको व्यावसायिक अपेक्षा कस्तो रहेको छ ?
खनाल : नेपालमा पुस्तक व्यवसायी र प्रकाशकहरू नै व्यावसायिक हुन नसकेको परिस्थिति देखिन्छ । त्यस सन्दर्भमा लेखकसम्म त्यसको परावर्तन आइपुग्न अलिक समय त लाग्छ नै । तर पनि पहिलो पुस्तकमै जे जति माया गर्नु भयो त्यो प्रति सन्तोष लागेको छ । कवितालाई सबैभन्दा बढी लेखिने र कम पढिने विधाको रुपमा लिने गरिन्छ । त्यो नेपालको सन्दर्भमा मात्र होइन । विश्वव्यापी रुपमै यो अवधारणा छ । व्यावसायिक हुँदै जानुपर्छ त्यो एउटा पाटो हो तर त्यो भन्दा महत्वपूर्ण पाटो कविताको प्रभाव हो । मेरा केही कविताले पाठकको मनमा तरङ्ग उत्पन्न गराउन सकेभने त्यो ध्वनि वा प्रभाव नै महत्वपूर्ण मान्छु । सापेक्षिक रुपमा पहिलो पुस्तक प्रकाशनका क्रममा पनि साथिहरूले माया गर्नु भएको छ र यो पुस्तकलाई पनि माया गर्नु हुनेछ भन्ने अपेक्षा राख्छु ।

समाज : एउटा कृतिले साहित्यकारलाई के के लाभ हुन्छ ?
खनाल : साहित्यिक लेखनमा क्रियाशील भएका नाताले अन्य व्यवसायमा जस्तो सोझो आर्थिक लाभ हानीको हिसाब त गरिँदैन । तपाईं केही कुरा व्यक्त गर्नुहुन्छ भने त्यसमा तपाईँको उकुसमुकुस बाहिर आउँछ । व्यक्तिगत रुपमा तपाईँको उकुसमुकुस, दिक्दारी, आक्रोश, उत्साह, खुसी लगायत बाहिर आउँछ । यसो हुँदा व्यक्तिगत रुपमा सन्तोष मिल्छ । हो त्यस्तै कविहरूमा पनि हुन्छ तर कविहरूले त्यतिमात्र गरेर पुग्दैन । त्यसमा जिम्मेवारी र सचेतता चाहिन्छ । लेखकका कुरा समाजले पढ्दै गर्दा त्यसबाट पर्ने प्रभावबारे एउटा जिम्मेवार लेखकले ध्यान दिनै पर्छ । माथि उल्लिखित कुराहरू कृतिमार्फत बाहिर ल्याउँदा पनि त्यसको प्रभावबारे सचेतता राख्नु पर्छ । त्यसभन्दा बाहेक सामाजिक प्राणीको सामाजिक जिम्मेवारी हुन्छ । साहित्यकारको पनि त्यो जिम्मेवारी हुन्छ र समाजको गुणात्मक परिवर्तनका लागि केही आवाज बुलन्द गर्दैगर्दा समाजले त्यो महशुस गरेमा त्यसलाई पनि लाभका रुपमा बुझ्नुपर्छ । उदाहरणका रुपमा लिने हो भने साहित्यिक कृतिकै कारण यो अन्तर्वार्तामार्फत जसरी विचार व्यक्त गर्ने अवसर मिलेको छ, यो पनि एक किसिमको लाभ नै हो । यसो भन्नुको मतलब विचार सम्प्रेषणको लाभ पनि हुने रहेछ ।

समाज : एउटा कृति तयार पार्न साहित्यकारले कस्ता तयारी गर्नु जरुरी देख्नुहुन्छ ?
खनाल : यो कुरालाई कसरी लिने भन्ने हुन्छ । यदि गम्भीरताका साथ लिने हो भनेचाहीँ कृति तयार पार्नु गाग्रीबाट अम्खोरामा पानी सार्नुजस्तो सजिलो काम होइन । यसो भन्दै गर्दा भोलि आफ्नो कृति आउँदै गर्दा कसैले सजिलै ट्यागिङ गर्न पनि सक्छ । तर ती ट्यागिङहरू सामान्य हुन् । गम्भीर भएर गरिएका कतिपय परिणाम सामान्य आइदिन पनि सक्छ र दुर्घटनावश कहिलेकाहीँ हल्काफुल्का रिसर्चको राम्रो परिणाम निस्किन पनि सक्छ । मूल कुरा के हो भने आफू इमान्दार भएर लेखनमा सचेत प्रयत्न गर्ने हो । म पनि आफ्नो कविता यात्रामा आपूmसँग यही अपेक्षा राख्ने गर्छु ।

समृद्ध समाजको असल यात्रा

समृद्ध समाजको असल यात्रा सुवास खनाल  - ४ हप्ता अगाडि Facebook Twitter Pinterest WhatsApp   Share   Tweet   Share   Share अहिलेको समयलाई सूचन...

Search This Blog