मोफसल बजारतन्त्रले खडा गरेको मान्यता हो ।
सुवास खनाल मकवानपुरमा बसेर साहित्यिक क्रियाशीलता देखाइरहेका कवि हुन् । ‘विचारको उल्टो नदी’ नामक कविताकृतिका सर्जक खनाल मकवानपुरमा क्रियाशील साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरका अध्यक्ष पनि हुन् । उनै कवि सुवास खनालसँग हेटौँडाकै अर्का कवि निमेष निखिलले गर्नुभएको वार्ता शुक्रवारको यस अङ्कमा प्रस्तुत गरिएको छ ।
प्रकाशन मिति : २४ वैशाख २०७३, ( 6 May ,2016 )
१. साहित्यतिर लाग्न केले प्रेरित गर्यो अनि किन लेख्नुहुन्छ ?
- मैले सुरुवाती लेखन नै सामाजिक दायित्वबोधले सुरु गरेको हुँ भन्छु भने त्यो मेरो ढाँट र अक्षम्य छली हुनेछ । म छतिवन मकवानपुरमा जन्मेको मान्छे हुँ । विद्यालय पढ्दाताका त्यहाँ एकजना शिक्षक रहनु भयोे –रमेश मोहन अधिकारी । होचा कदका ,घोप्टे जुँघा भएका र निर्देशन क्षमता राख्ने मान्छे । उहाँको अभिप्रेरणाको प्रभाव हो सुरुवाती लेखन । जब साहित्यलाई सचेत ढङ्गले बुझ्ने प्रयत्न गर्न थालेँ तब साहित्यको सामाजिक उत्तरदायित्व हुन्छ भन्ने लाग्न थाल्यो । आजको समाज त्यति असचेत छैन बरु चेतनामा लाग्ने धमिराको निर्मम आक्रमण समाजमा छ ,त्यस विरुद्ध केही आवाज दिन सक्छु कि भन्ने हो ।
२. हेटौँडामा बसेर लेख्नुहुन्छ । काठमाडौँमा बसेर लेखेको भए आफ्नो परिचय बेग्लै हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?
- प्रकाशन ,प्रसारण र सहज सम्पर्क लगायत विषयलाई ख्याल गर्ने हो भने काठमान्डौ बसेर लेख्दा तपाईँले भनेजस्तै केही सहज पक्ष अवश्य छन् । यसकारण नै हो केन्द्र र मोफसलको बहस चलिरहेको । तर साहित्य त्यत्ति मात्रको चिजचाहीँ होइन । मूल रुपमा तपाईँले के लेख्नुभयो ,त्यो महत्वपूर्ण हुन्छ । अहिलेको डरलाग्दो बजारतन्त्रले स्थापित गरेको मान्यता हो केन्द्र र मोफसल । मोफसलमा रहँदा रिकग्निसनमा समय लाग्ला तर साहित्यमा हेरिनु पर्ने कुरा भनेको लेखनी नै हो । अरु सबै लेप पखालिएर जान्छन् ।
३. एकथरीका लेखक कवि त मोफसलमा भएर पछि परियो । केन्द्रमा भएको भए मैले जान्या थेँ । त्यो फलानो फलानो त मभन्दा कत्ति जुनियर हुन् नि पनि भन्छन् त ?
- यो एक किसिमको झुर कुरा नै हो । यस ग्लोबल युगमा केन्द्र के हो भन्ने नै पनि प्रश्न बन्न सक्छ । हामी के को लागि लेख्छौँ भन्ने कुरामा सचेत हुने हो भने यी कुरामा रुवाबासी गर्नुको कुनै तुक रहने छैन । केन्द्रमोहले सबैभन्दा धेरै ग्रसित मानिस नै सबैभन्दा बढी केन्द्रियताको विरोध गरिरहेको देखिन्छ । केन्द्रसँग गुरुत्व छ , यसले सघन आकर्षण गर्छ तर केन्द्रमा रहेर सङ्घर्ष गर्नु र अस्तित्वको सङ्कटमा फस्नु कम चुनौतिपूर्ण छैन । यसको मतलब म केन्द्रियताको पक्षपोषक चाहीँ होइन ।
४. तपाईँ कविता लेख्नुहुन्छ । यस समय लेखिइरहेका कवितालाई कसरी बुझ्नुहुन्छ ?
- यो चुनौतिपूर्ण प्रश्न हो भन्ने लाग्छ । एउटा कार्यक्रमका सन्दर्भमा साहित्यका सचेत पाठक उदय अधिकारी सरले फ्याट्ट भन्दिनु भयो –समकालीन कवितामा अनुभूतिको तीव्रता कमजोर छ । कविहरु आफ्नो टाइमफ्रेम भन्दा पुरानो चस्माले समाजलाई हेर्छन् । यो कुरामा केही सत्यता अवश्य छ तर समकालीन लेखनमा विमल निभा ,श्यामल ,श्रवण मुकारुङ,आहुती हुँदै रेशम विरही, मनु मञ्जिल, भूपिन, निमेष निखिल, उपेन्द्र सुब्बा, सरिता तिवारी, केशव सिलवाल ,विनोद विक्रम केसी , सीमा आभास, सुमनराज श्रेष्ठ ,जेनन नेपालहरुलाई पढ्दै गर्दा समय चिन्तन प्रभावशाली नै अनुभूति हुन्छ ।
५. अलिक अनौपचारिक र व्यक्तिगत कुरा गरौँ । तपाईँले साहित्यिक विवाह गर्नुभयो । म सम्झन्छु– त्यो विवाह । तपाईँ र भावना सापकोटा, जो कवि पनि हुन् बीच एक साहित्यिक कार्यक्रमका बीच कविता साटेर विवाह भयो । जनवादी विवाह त सुनिएको थियो, यस्तो साहित्यिक विवाह गर्ने सोच र प्रेरणा कहाँबाट आयो ।
- मसँग यो प्रश्नको कुनै यान्त्रिक जवाफ त छैन । नढाँटी भन्ने हो भने त्यस समय सांस्कृतिक विवाहलाई धान्न सक्ने हैसियत मसँग थिएन । पछिल्लो समय विवाह त्यत्तिकै रवाफिलो हुँदै गइरहेको छ । भावना र म दुबै जना अध्ययन क्रममै थियौँ । विवाहमा हुने खर्चलाई अध्ययनमा प्रयोग गरौँ भन्ने मनशायले दुबैको सल्लाहमा त्यस किसिमको बाटो तय गरियो । र यसले हाम्रो जिन्दगीलाई असहज पनि बनाएन । अब त दुई सन्तानको आमाबाबु नै पो भइसक्यौँ ।
६. तपाईँ हाल साहित्य सङ्गम मकवानपुर जस्तो एउटा पुरानो र इतिहास बोकेको संस्थाको अध्यक्ष हुनुहुन्छ । र, पछिल्लो समयमा साहित्यिक संस्थाहरू घुमाइफिराई पुरस्कार आदानप्रदान, भनौँ साटासाट गर्ने अभियानमै लागेका छन् भन्ने जस्ता समाचारहरू सुन्नमा आउँछन् । तपार्इँलाई पनि त यस्ता अफर आए होलान् नि । यो प्रवृत्तिले हाम्रो साहित्यलाई कहाँ पु¥याउला ?
- साहित्य सङ्गम मकवानपुर, मकवानपुरमा रहेको पुरानो र इतिहास बोकेको संस्था पक्का हो । २०४६ को जनआन्दोलन पूर्व तत्कालीन राज्यव्यवस्थाले जनतामाथि गरेको व्यवहारप्रति असन्तुष्ट मकवानपुरका बौद्धिक र समयसचेत व्यक्तिहरुको एक किसिमको मुभमेन्टस्वरुप जन्मेको संस्था हो यो । संयोगले तपाईँसँग कुरा गर्दैछु र तपाईँ पनि दुई कार्यकाल सङ्गमको अध्यक्ष हुनुभयो । यो संस्थाले विगतदेखि नै मकवानपुरमा साहित्यिक श्रृवृद्धिका निम्ति अनेकन गतिविधिहरु गर्दै आइरहेको छ । आफ्नै जग्गा र भवन रहेको र साथमा निरन्तर क्रियाशील संस्थाको अध्यक्ष हुन पाउनु आफैँमा स्वभाविक खुसीको महशूस गर्छु । तपाईँले भनेजस्तो पुरस्कार साटासाट गर्ने बाटोमा सङ्गम हिँडेको छझैँ लाग्दैन । र व्यक्तिगत रुपमा मलाई त्यस किसिमका अफर पनि आएका छैनन् । म यसलाई साहित्यिक माफियातन्त्र भन्छु र यसको पछि लागेर हामीले हाम्रो साहित्यलाई सही बाटोमा लगिरहेका हुने छैनौँ भन्ने लाग्छ ।
७. तपाईँको ‘विचारको उल्टो नदी’ कविताकृति बजारमा आयो । अब छिट्टै केही आउँदैछ कि वा के छ ?
- ‘विचारको उल्टो नदी’ २०७१ असार मा आएपछि कहीँबाट फुत्केजस्तो वा स्वतन्त्र भएजस्तो अनुभव रह्यो । कुरैकुरामा फरक विधामा दोस्रो कृति आउनसक्छ भनेर साथीहरुसँग गफ साझेदारी गरेथेँ । तर दोस्रो पनि कविताकैै कृति हुन्छ जस्तो लाग्दै छ । तर गति भने सुस्त नै छ ।