Thursday, October 21, 2021

नेतृ अष्टलक्ष्मी शाक्यसँग श्यामप्रसादबारे भएको वार्ता

नेतृ अष्टलक्ष्मी शाक्यसँग श्यामप्रसाद स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले फोनसंवाद मार्फत गर्नुभएको वार्ताको संपादित अंश


तपाईँहरू श्यामप्रसाद समूहबाट राजनीतिमा प्रवेश गर्नुभएको रहेछ , कसरी आउनु भयो राजनीतिमा ?

–हो हामी उहाँको विचार समूहमा नजानिँदै प्रवेश गरेका रहेछौँ । खासमा त्यतिखेर हामी  चिनियाँ भाषा सिक्थ्यौँ । चिनियाँ भाषा सिक्नका लागि महेशमान श्रेष्ठकहाँ जाने गर्दथ्यौँ । चिनियाँ भाषा सिक्ने कुरा पनि क्रान्तिसँग नै जोडिन्थ्यो । वसन्तपुरमा रहेको चिनियाँ लाइब्रेरीमा चिनियाँ भाषाको पढाइ हुन्थ्यो ,महेशमानले नै चिनियाँ भाषा पढाउनु हुन्थ्यो ,त्यही क्रममा राजनैतिक प्रशिक्षण पनि हुन्थ्यो । शकुन्तला मानन्धर र म चिनियाँ भाषा सिक्नुका साथै राजनैतिक सङ्गठन निर्माण र जनवादी क्रान्तिका कुराहरू बाट प्रशिक्षित हुन्थ्यौँ । त्यसबेला सुलोचना र म एसएलसी दिएर बसेका थियौँ र एउटै टोलबासी पनि । खाली समय भएकाले सो समय सदुपयोग गर्न  चिनियाँ भाषा सिक्न जाने क्रममा नै हामी राजनैतिक चेतना ग्रहण गर्ने तहमा पुग्यौँ । कलेज समय सुरु हुँदा सम्म यो क्रम चल्यो । महेशमान बाहेक अर्का एकजना हुनुहुन्थ्यो ( नाम बिर्सेँ –देवराज तुलाधर हुनुपर्छ ) ,उहाँहरूले चिनियाँ भाषा सिकाउनु हुन्थ्यो र साथमा राजनैतिक प्रशिक्षण पनि दिनुहुन्थ्यो । उहाँहरू श्यामप्रसाद समूहका हुनुहुँदो रहेछ  ।

श्यामप्रसादसँग चाहीँ कसरी भेट हुन पुग्यो ? 

–त्यतिबेला सबैका गोप्य नामहरू हुन्थे । देखभेट नै भएपनि वास्तविक नाम नहुने हुनाले मैले श्यामप्रसादलाई त्यो समयमा चिन्न पाइनँ । सहज भेटाउने र चिनाउने वातावरण थिएन । हामीलाई चिनको विकासका कुराहरू सुनेर चिनबारे बताइ दिन आग्रह गथ्र्यौँ ,भाषा सिकाउने गुरुहरूलाई । यसबाट उहाँहरूले राजनैतिक चेतना दिनु ठीक सम्झिनुभएछ हामीहरूलाई अनि राजनैतिक चेतना बाँड्न थाल्नु भयो । त्यसो हुँदा पनि नेता तथा व्यक्तिहरू उत्ति चिनाइ हाल्नु हुन्थेन । शकुन्तला र म मध्ये म अलिक सबल आर्थिक अवस्था भएको परिवारको थिएँ र शकुन्तला अलिक कमजोर आर्थिक अवस्थाको परिवारकी थिइन् । यस अर्थमा पनि मप्रति उहाँहरूको राम्रो विश्वास बनिसकेको थिएन । यो टिक्न सक्दिनँ भन्ने खालको मानसिकता थियो जस्तो लाग्छ । त्यसकारण शकुन्तला बढी विस्वासिलो भएकाले भेट्ने अवसर पाइन् तर मलाई भेट्ने अवसर दिइएन । भेट्न नपाएपनि उहाँका कृतिहरू भने मैले सो समय पढ्न पाएको थिएँ । उहाँका कृतिहरूले निकै प्रभाव पारेका थिए । उहाँको ‘साथि बनाउने काइदा’ भन्ने पुस्तकले मलाई कस्ता साथि बनाउने र कस्ता नबनाउने भन्ने मार्ग दर्शन गरेको थियो । क्रान्तिकारीका क्रान्तिकारी नै साथि हुनुपर्छ भन्ने मैले त्यहीँबाट सिकेकी थिएँ । ‘बहिनीलाई चिठीका भाग १,२ र ३ ’ पनि मलाई सो समय निकै प्रभाव पारेका पुस्तक थिए । सरल भाषा शैलीका साना आयतनका ती पुस्तकका गुदी भने गतिला हुने गर्दथे । उहाँकै समूहमा रहेर पनि उहाँलाई त पछि मात्रै मैले भेट्न पाएको हुँ र उहाँको समूहको हुँ भन्ने  पनि निकै पछि बुझेकी हुँ । हामीलाई हाम्रो अधिकार चाहिन्छ , पञ्चायती व्यवस्थाले देश विकास गर्न सक्दैन , देश विकासका लागि कम्युनिस्ट व्यवस्था चाहिन्छ भन्ने खालका कुरा हामीलाई प्रशिक्षणहरूमा सिकाइन्थ्यो तर नेतृत्वकर्ता को हुन् भन्ने जानकारी गराइन्नथ्यो । 

कहिलेसम्म श्यामप्रसाद समूहमा रहनुभयो र कसरी मालेमा प्रवेश गर्नुभयो ?

–हामीलाई प्रशिक्षित गर्ने व्यक्ति महेशमान थिए । उहाँ उपचारको लागि चिन जाने हुनुभयो । भन्नलाई त्यो भनिएपनि उहाँ पिएचडी गर्न जानुभएको रहेछ । जब उहाँ जानुभयो ,हामी त रानीविनाको घार जस्तो भयौँ । उहाँले हामीलाई जसको जिम्मा लगाउनु भयो , वा हामीलाई हाम्रो नेता भनेर एकजना व्यक्ति चिनाइदिनु भयो ,त्यो मान्छे गतिलो परेन । उसको दृष्टिकोण सही थिएन । उसको आचार गलत थियो । यो हाम्रा समूहका साथिहरूले पत्तो पाइसकेका थिए । हामीलाई साह्रै समस्या प¥यो । हामीसँग समूह थियो तर नेतृत्व थिएन । श्यामप्रसाद सँग प्रत्यक्ष सम्पर्क नभएको र हामीले बनाएको सर्कलको नेतृत्व गर्ने मानिस नभएपछि र जो नेता पाएका थियौँ । ऊ गलत परेपछि हामीले सही दिशा प्राप्त गर्न सकेनौँ । हामी त्यत्तिकै अलपत्र प¥यौँ । बीचको नेताले माथिल्लो नेतृत्वसँग सहज सम्बन्ध बन्न दिएन । हामी घरको घेराबाट बाहिरीसकेका थियौँ तर बाहिर हामीलाई सहज वातावरण बनिरहेको थिएन । हामी बुर्जुवा सर्टिफिकेट केही काम छैन भन्दै पढाइलाई ध्यान नदिने र राम्रो पढियो भने पार्टिको विश्वास गुम्छ भन्ने तहमा पुगिसकेका थियौँ । अनि जाँचलाई पनि उत्ति वास्ता गरिएन । जब महेशमान चिन गए अब हामीले बुझेको थियौँ ,हामी श्यामप्रसाद समूहका हौँ , हाम्रो विश्वास चिनिया क्रान्ति र माओत्सेतुङ विचारधाराको हुनुपर्छ । तर यो समूह अति गोप्यतावादी भएकाले कसैले कसैलाई चिनाउँदैनथे । बहुतै मुस्किल प¥यो । यस बीचमा प्रगतिशील स्कुल – बाल सेवा निकेतनमा पढाउन थालेको थिएँ । त्यहाँ शान्तदाश मानन्धर, माधुरी दीक्षित लगायत हुनुहुन्थ्यो । थोरै पैसा आउँथ्यो त्यो पनि लेवीको रुपमा बुझाउँथ्यौँ । नेतृत्व विहीनताको अवस्थामा पुगेपछि अध्ययन समुह निर्माण गरियो । सो समूहमा  ६० जना साथिहरू थियौँ , जसले ‘मितेरी’ हाते पत्रिका पनि निकालेका थियौँ र गाउँ जाने अभियान सुरु गरेका थियौँ ।

यसै बेला झापा विद्रोह चर्चित थियो , कोअर्डिनेसन केन्द्र र नेकपा माले स्थापना भएको बेला थियो । हामीलाई पनि नेतृत्व विहीनताका कारण एउटा पार्टि आवश्यक परेको थियो ।  एउटा पार्टीमा त लाग्नै प¥यो भन्ने हाम्रो सल्लाह भयो र तत्कालीन नेकपा मालेमा रहनु भएका मञ्जुल , रायन , रघुजी पन्त लगायतसँग छलफल गरी त्यता प्रवेश गरी राजनैतिक यात्रा सुचारु गरियो । घरमा विवाहका कुरा पनि चर्कै आउन थालेपछि अब मेरो राजनीति सकिन्छ भन्ने अनुभव गरी २०३६ साल पुस ४ गते मैले मालेको होलटाइमर भएर राजनीतिक यात्रामा अघि बढेको हुँ । त्यसरी त्यो बेला जो जो नेकपा मालेमा हाम्रो समूहबाट प्रवेश भए उनीहरूलाई श्यामप्रसाद समूहबाट आएको भनी परिचय भएको पाइन्छ ।

बीचमा त भेट भएको बुझिएन तपाईँको श्यामप्रसादसँग ,तर पछि श्यामप्रसादलाई सम्मान गर्ने सन्दर्भमा भेट हुँदा उहाँको प्रतिक्रिया के रह्यो ?

उहाँ र हाम्रो भेट बहुदल आएपछि मात्रै भयो । त्यतिबेला हामी नेता भइसकेका थियौं । मैले उहाँसँग भेट्दा असाध्यै खुसी हुनुभयो । उहाँले भन्नुभयो,– ‘हामीले रोपेको बिरुवाले निरन्तरता पाएको रहेछ, मलाई सारै खुसी लाग्यो ।’ पछि म महिला तथा बालबालिका मन्त्री थिएँ । त्यहीबेला उहाँलाई सम्मान गर्ने मौका समेत पाएँ । उहाँलाई सम्मान गर्न पाउँदा असाध्यै खुसी लाग्यो । म फरक लाइनमा स्थापित भएपनि उहाँको शील स्वभाव र लेखनीबाट म सधैँ प्रभावित थिएँ । मेरो मष्तिष्कमा बसेको उहाँको ओजस्वी छाप कायमै थियो ।  आफ्नो गुरुलाई सम्मान गर्न पाएकोमा म मनदेखि उत्साहित भएकी थिएँ । उहाँले पनि मेरो अनेक हन्डर र अप्ठ्याराका बाबजुद तय भएको राजनैतिक यात्राको खुलेर प्रशंसा गर्नुभयो । मन्त्रीसम्म भएकोमा बधाइ पनि ज्ञापन गर्नु भयो । मैले पनि हामीसम्म नेतृत्व तहले ध्यान नपु¥याएकाले एक समयमा अप्ठेरोबाट गुज्रिनु परेको जानकारी गराएँ । अति गोप्यतावादी हुनुको समस्या पनि रहेको बताएँ । तर आफूमा राजनैतिक चेतना जागरणको श्रेय श्यामप्रसाद समूहलाई जाने स्विकारोक्ती राखेँ ।

महेशमानसँग तपाईँको विमत्ति अझै पनि कायम छ भन्ने लाग्यो , थप स्पष्ट पारिदिनु न ।

हो महेशमानबाट हामीलाई धोका भएको पक्कै हो । उहाँको नाकबाट रगत आउने समस्या देखिएर चिन जानुभयो , हामीले उपचार यहीँ गर्दा हुन्छ भन्दा सुनुवाइ भएन । तर उहाँ त पढ्न जानुभएको रहेछ । जसले हामीलाई बुर्जुवा शिक्षा काम छैन भनेर प्रशिक्षित गर्नुभयो । उहाँकै प्रशिक्षणका कारण आइएमा हामीले खाली उत्तरपुस्तिका बुझायौँ, पढाइ छाड्यौँ तर उहाँ आफूभने चिन गएर डक्टर पढ्नुभयो । व्यवहारिकतामा उल्टो देखिनु भयो । त्यस हिसाबले उहाँप्रति विमत्ति छँदैछ । यदी हामीले सही ढङ्गले बाटो तय गर्न नसकेको भए हामी विचल्लीमा पर्ने रहेछौँ । हाम्रो जीवनै बर्बाद हुने स्थितिमा पुग्ने रहेछ । तर यसो भने हुन पाएन । हाम्रो समूहले एउटा निर्णय गरेर अघि बढ्न सफल भयौँ । 

(   'स्मृति बिम्बमा श्यामप्रसाद' कृतिमा प्रकाशित  )




Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog