Sunday, August 18, 2013

Poem

( कवितामा एक नाम प्रयोगमा आएको छ । यो संयोगवश होइन । यो प्रयोजनसहित  हो । वैयक्तिकीको झल्को अलिक बढी देख्नुभएमा त्यसलाई ग्रहण गर्नु पर्ने भन्नेमा त्यस्तो अपूर्व आग्रह रहेको छैन । )

कविता नम्बर : सुवास

सुवास खनाल


करिब ९५० देखि १८००         
क्रेनियल क्षमताको
आधुनिक मष्तिष्कमुन्तिर
बाँच्ने गर्छ
स्वघोषित सर्वश्रेष्ठ जीव
यो जीवको कुनै वर्गीकरणमा
लेखिएको हुनसक्छ मेरो नाम

सुवास खनाल
यसको टाउकोको अक्षांश र देशान्तर वरिपरि
घुम्छ कि कुनै गाइनेकीरा
जसको पखेँटाहरू जत्तिको पनि
सम्भव छ –
अस्तित्वमा नरहोस् ऊ

उसलाई लागेको हुनसक्छ कुनैदिन
यो टाउको बम् मात्र हुन बाँकी छ पड्किन
उसले यत्ति पनि नसोचोस् ,यो होइन
मष्तिष्क,
बहन क्षमताको कराइमा
अर्को एक चरण बाफमा परिणत हुन खोज्दैछ

के
यो झारे टाउकोसँग दुश्मनीमात्र त छैन नि मेरो
कि यो यति गह्रौमात्र भइरहने

यही खप्परमा गुदी भर्न
बिताएको छु
जीवनको अधिक ऊर्जाशील समय

कविता ??
यो एक ठुस्को पादसँग साटेका छन् देशका शासकले
नाक ???
यसलाई चङ्गा उडाऊ अनि गणना हुनेछ देशको नागरिक नाममा
अस्तित्व ????
भयो बा
के तिमी नागरिकतालाई अस्तित्वको प्रमाण मान्छौ ?

ऐजेरू अनुहारमा कुनै कस्मेटिक सौन्दर्य पोतेका समय
सगरमाथाझैँ उभिइरहेको छ

आजकाल
फरक रङको इन्द्रेनी झर्छ
फरक आँखाका प्वालमा

फैलिँदो रहेछ विषाद्को लहरा
लाग्दो रहेछ लेऊ विचारका भित्ताहरूमा

सुवास खनाल
यी केवल वर्णमालाका केही अक्षरहरूको सम्मीश्रण
चेतनाको कुनै अजङको आकार अघि
यो निकै लुर हराएको मान्छेझैँ मात्र हुनेछ

सुवास
यो खोलमा मलाई मतलब छैन
यो सवासु भए के मतलब ?
वासुस,सुसवा ...यावत् भए के मतलव ?
तर
यो अत्यधिक असह्य हुन्छ
जब गरिन्छ कैद –चेतना
यो कि
पिँजडा सुनकै किन नहोस् ।