सम्झनाका पलहरूमा गणेश सर ।
सुवास खनाल
साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण सञ्चार सेवा समाजले तत्कालीन समयमा कार्यक्रमहरू सञ्चालन गर्दथ्यो । यो २०५६ या ५७ सालतिरको कुरा थियो । उहाँ स्वास्थ्यको कुनै शिविरमा छतिवनमा हुनुहुँदो रहेछ र ग्रामीण सञ्चारको कार्यक्रममा कविता सुनाउनु भएको थियो । उही समयमा मैले पहिलो पटक गणेश सरलाई भेटेँ । उसैबेला उहाँका केही कृतिहरू प्रकाशित भइसकेको र भर्खरै मात्र ‘बङ्गलादेशको सफर’ नामक कृति प्रकाशन भएको जानकारी पाएको थिएँ ।
पछि म अध्ययनको सिलसिलामा हेटौँडा बस्न थालेपछि र साहित्य सङ्गमका कार्यक्रममा निरन्तर उपस्थित हुन थालेपछि उहाँसँगको भेटको सिलसिला बढ्यो । विशेषत ः व्यङ्ग्य सिर्जनामा कलम चलाउनु हुने उहाँ लेखनमा अलिक तीव्र लाग्नुहुन्थ्यो । विषयवस्तुलाई धेरै कलात्मक रुपमा प्रस्तुत नगरी आक्रामक लेखन गर्ने उहाँको शैली थियो । व्यङ्ग्यात्मक कविता , निबन्ध , लघुकथा लगायतमा उहाँको कलम चल्दथ्यो । मकवानपुरमा जनमतका धेरै ग्राहक बनाएर साहित्यिक अध्ययनमा धेरै सर्जकलाई जोड्नुमा उहाँको भूमिका रहेको छ । हेटौँडाबाट निस्किने पत्रिकाका शनिवारीय पृष्ठमा एकै दिन धेरै पत्रिकामा रचना छपाउनु हुन्थ्यो । हामीले एउटामा मात्र प्रेषण गर्दा उपयुक्त हुने सुझाउँदा उहाँको तर्क थियो –धेरैमा छाप्दा धेरै पाठकमाझ आफ्नो रचना पुग्छ र साहित्यको सन्देश जान्छ भन्ने । उहाँ लेखनका अतिरिक्त गायनमा पनि रुची राख्नुहुन्थ्यो ।
उहाँलाई चित्त नबुझेका कतिपय कुरा कार्यक्रममा उहाँ प्रष्टसँग राख्नुहुन्थ्यो । नयाँ पुस्ताका कवि लेखकहरूलाई हौस्याउनु हुन्थ्यो । सङ्गमको अध्यक्ष म आफू रहँदा उहाँ छोराहरूसँग भेटका लागि अमेरिका जानु पर्ने थियो । उहाँले सङ्गमसँगको आबद्धता रहेको चिठी अङ्ग्रेजीमा बनाएर लानु भएको थियो र त्यस निम्ति सहयोग गर्न पाएको थिएँ । बनस्खण्डीमा गोपाल प्रसाद रिमालको प्रतिमा स्थापना ताका त्यो ( उहाँको बसोबास ) भेगमा गर्न पाउँदा निकै हर्षित भएको अनुभव सुनाउनु हुन्थ्यो । उहाँ बाहिर रहेर नेपाल आउँदा पनि त्यहाँका अनुभवहरू सुनाई विश्वमा सुन्दर देश नेपाल रहेको र यहाँ व्यवस्थापन गर्ने नेताहरू गतिलो नहुनाले नेपालले दुख भोगिरहेको तर्क गर्नुहुन्थ्यो ।
नेपालबाहिर हुँदा पनि उहाँ हामीसँग फोन सम्पर्कमा रहीरहनु हुन्थ्यो । विदेश हुँदा पनि हेटौँडाको साहित्यिक गतिविधिबारे उहाँलाई विशेष चासो रहन्थ्यो । समय–समयमा फोन गरेर कुन–कुन संस्थाले कस्ता गतिविधि गरिरहेका छन् भन्ने जानकारी लिनु हुन्थ्यो । उहाँ नेपाल फर्केपछि सङ्गमकै कार्यक्रममा उहाँका अनुभव सुनाउन आग्रह गरेको विषय सम्झनामा ताजै रहेको छ ।
लेखिएका रचनाहरूमध्ये म उहाँका लघुकथाहरूबाट बढी प्रभावित छु । सम्पे्रष्य र तीख्खर लघुकथाका झङ्कार मानसपटलमा अझै झङ्क्रित छन् ।
उहाँको एक लघुकथा –
वास्तविकता
स्वर्गको राजा इन्द्र निरीक्षणको क्रममा यमलोक पुग्दा त्यहाँ भव्य स्वागत गरियो । राजा इन्द्रलाई त्यहाँको वस्तुस्थितिबारे यमराजले जानकारी गराउँदै सबै देशको आआफ्नो नाम लेखेको कन्टेनर देखाए ।
जुन देशको मान्छे मरेर आउँथे ,त्यो मान्छे नभागोस् भनेर त्यही देशको कन्टेनरमा हाली बिर्को बन्द गरिन्थ्यो ।
राजाले एकएक गरी कन्टेनर हेर्दै जाँदा एउटा कन्टेनरको बिर्को खुला देखेकाले बिर्को नलागाइनुका बारे यमराजलाई सोधे । यमराजले जवाफ दिए –‘सरकार यो त नेपालको कन्टेनर हो । यसको बिर्को लगाउनु पर्दैन । नेपालीहरूमा एकले अर्काको खुट्टा तान्ने परम्परा भएको हुँदा भाग्ने त कुरै छैन कन्टेनरबाट माथि उक्लिन समेत सक्दैनन् । ’
उहाँलाई क्यान्सरको शङ्का भएर इन्डियाको हस्पिटलमा उपचाररत रहनु हुँदा हामीलाई उहाँबारे चिन्ता भइरहन्थ्यो । कार्यक्रमहरूमा उहाँबारे चर्चा हुन्थ्यो । इन्डियाबाट फर्किँदा खानपानलाई सुधारेका कारण अब स्वस्थ रहेको बताउनु हुन्थ्यो । रोगलाई जितेको चर्चा पनि गर्नुहुन्थ्यो । सम्भवत ः उहाँसँगको अन्तिम इन्टरभ्यु ‘बुढ्यौली साहित्य’ कार्यक्रममा मैले गर्ने सन्दर्भ बनेको थियो र सो इन्टरभ्यूमा उहाँले शुद्ध खानपानले क्यान्सरजस्तो रोगसँग लडेर आफू स्वस्थ भई हिँडडुल गर्न सकिरहेको बताउनु भएको थियो ।
रोगपश्चात् पनि हेटौँडाका साहित्यिक कार्यक्रमहरूमा उहाँ आफै स्कुटर ड्राइभ गरेर आउने र फर्किने गर्नुहुन्थ्यो । २०७९ वैशाख –जेठतिरसम्म सामान्य शैलीमा हिँडडुल गरिरहनु भएका उहाँ चुरेहिल हस्पिटल भर्ना हुनुभएको जानकारी म आफूलाई असार ४ गते भएको थियो । ५ गते भेट्न जाँदा उहाँलाई गारो रहेको जानकारी भयो तर मलाई ‘सुवासजी’ भनेर सहजै चिन्नुभएको थियो । असार ७ गते त उहाँ हामी सबैबाट बिदा हुनुभयो ।
गणेश सर भौतिक रुपमा हामी सबैमाझ नरहे पनि उहाँका कृति र सम्झनाहरू चीर काल पर्यन्त रही रहनेछन् । मानिसले आफ्नो इतिहास आफै निर्माण गरेर जाने गर्दछन् । जसको कुनै इतिहास निर्माण हुँदैन तिनलाई कृतिम बलले पनि उभ्याउन सकिँदैन । जसले आफ्नो इतिहास बनाएर जान्छन् , त्यो कसैले मेट्न चाहेर पनि मेटिँदैन । गणेश सर पनि मकवानपुरको साहित्यमा नमेटिने आफ्नै आकारको इतिहास हो । उहाँप्रति मेरो सदैव सम्मान छ ।