Wednesday, February 2, 2011

NEW POEM

..............वा अनिश्चय


सुवास खनाल

कहीँ त यस्तो पनि होस् न
मान्छेहरूले चिन्न सकून
रङहरूको प्रकार
कालो ,सेतो ,खैरो,पहेँलो

रतन्धोको कुनै बिमारीले गर्ने
साँझको यात्राजस्तो
खै कुन गन्तव्य हिँडिरहेछ यो देश ?
अखबारका पेजहरूको कापकापबाट फैलिरहेको
कुनै नमिठो अनिश्चयको गन्धले
हरदिन तर्सिँदै आँखा खोल्छ –बिहान
र मेरो सपना मरूभूमिकरण हँुदै गएको
कुनै बाँझो जमिनजस्तो लाग्दै जान्छ

यस युगको सचेत बुद्धिजीवी
फुटपाथमा बसेर बेच्छ सहिदको तस्वीर
र आजकाल मासुपसलमा
सँगै बिक्री हुन्छ
बुद्धको स्ट्रयाचु

कुनै जीर्ण देवलको पछाडिपट्टि
चोर ढोकाबाट आवतजावत गर्ने
विना लाइसेन्सको ईश्वरलाई के मतलब
अरबौँ मान्छेहरूको
मान्छेहरू भने मस्ताराम भजन गाइरहेछ
न्दिनभर ,रातभर ,जीवनभर

जीवनगतिको उल्टो दिशामा
अकास्मात
कहिलेदेखि चल्न थाल्यो घण्टाघरको सुई
र कहिलेदेखि बग्दैछन् यी नदीहरू उल्टो
यो बहने हावाको किन कुनै दिशा छैन ?
र समयको अर्थ कसरी जस्तोपनि लाग्दैछ ?

यो भूगोलको अन्तिम सिमानाहरूमा
उदाइरहेका अनगिन्ति इन्द्रेणी
अस्ताउँदै गरेको सुर्यले
पश्चिमी क्षितिजमा छोडेर गएको उज्यालोका मसिना धर्काहरू
वा मन्दिरमा चढाइएका फूलहरूको सुन्दरता
यसबाट बन्दैन र कुनै मल्हम
जुन जस्तो कि सबै घाउहरूमा लाउन मिलोस्

भत्केको पहाडबाट
फुत्किँदै भागेको पानीको मुल
हो जीवनसँग यही अर्थहरू भेटिरहेछु म

कहीँ त यस्तो पनि होस् न
मान्छेहरूको अनुहारमा सधैँ बसाइँ आउन्
खुसीहरू
र फैलिरहोस् सुवास जिन्दगीको

छतिवन –८ ,पावस ,मकवानपुर

subaspoet@gmail.com
abha_subas2000@yahoo.com




No comments:

Post a Comment

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog