हेटौंडा,बकैया –५ मकवानपुरमा जन्मेर २०५७ सालदेखि कविता लेखनमा निरन्तर क्रियाशील सुवास खनाल युवा पुस्ताका परिचित कवि हुन् । हेटौँडा बसेर कविता लेखन गरिरहेका उनी पेशाका हिसाबले विज्ञान शिक्षक हुन् । भौतिक शास्त्रमा एम एस्सी तथा बिएड गरेका उनको यस अघि २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामको कविता सङ्ग्रह प्रकाशन भइसकेको छ । गजल मञ्च मकवानपुरका संस्थापक सचिव , साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष , श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठानका संस्थापक सचिव र प्रलेस केन्द्रीय परिषद् सदस्य समेत रहेका यिनको दोस्रो कविता सङ्ग्रह ‘सपनाका अवयव’ गत चैत २१ गते सार्वजानिक हुने कार्यक्रम रहेको थियो तर कोरोना प्रभावका कारण उक्त सङ्ग्रह सार्वजानिक हुन सकेको छैन । समय सहज भएपछि सार्वजानिक हुने उनी बताउँछन् । अहिले उनकै दुई समय सान्दर्भिक कविताहरू ‘राहत’ र ‘कोरोना’ यहाँ प्रस्तुत गरिएको छ ।

राहत
हेलिकोप्टर चढेर आइपुगे गाउँ–
केही थान त्रिपाल
केही बोरा चामल
केही बन्डल बिस्कुट
केही कार्टुन चाउचाउ
केही थान सेकेन्ड ह्यान्ड लुगा
र, चप्पल ।
प्रकोपमा छोरो गुमेको
हस्त तामाङले पाए एक थान चप्पल
घर लडेको सन्त परियारले
पाए केही पोका चाउचाउ
चन्द्र बाजेले
आफ्नो नाममा लेखाए त्रिपाल
बाबुआमा बितेका केटाकेटीले भेटे केही पोका बिस्कुट
पाडो मर्ने मधु बस्नेत
खेत पुरिने हरि चम्लगाईं
गोठ लड्ने शेरबहादुर बिकलाई
भाग पुग्यो हेलिकोप्टर उड्दाकोे हावा ।
यता सँगसँगै–
राहत संयोजक बुद्धिजीवि हरिशरणले
छोरीलाई किनिदिए सुनको औंठी
थपे बैङ्क खातामा केही रकम
उपसंयोजक हीरादेवीले
जोडिन् छड्के तिलहरी ।
रेडियोमा समाचार बज्यो–
लहरे गाउँमा राहत वितरण भो ।
२०७१ मा प्रकाशित विचारको उल्टो नदी को कभर
कोरोना
यो एकिन थियो तिमी आउँछौ
भएको छ हाम्रो कमजोरी
हामी थियौँ– कहीँ नपुगिने दौडमा
वैश्विक बजारमा बेचिरहेथ्यौँ– मानवता
अर्थ द्विविधामा थियौँ –आत्मियताको
आक्रमण ग¥यौँ लगातार प्रकृतिमाथि
मग्न रह्यौँ आफैमा
र पटक्कै ख्याल गरेनौँ समयको अप्ठेरो गति
अब एकाएक सम्झिएका छौँ पुराना बाटाहरू
तिमीलाई थाहा छ कोभिड
हामी त्यतिकै यहाँ आइपुगेका होइनौँ
हूरी आउँछ जान्छ
हाँगाहरू भाँचिन सक्छन् , पातहरू खस्न सक्छन्
तर पहाड मक्किँदैन
हिमाल भत्किँदैन
बाढी आउँछ जान्छ
माटो बगाउन सक्छ , ढुङ्गा टुक्र्याउन सक्छ
तर पृथ्वी डगमगिँदैन
भूकम्प आउँछ जान्छ
हुन सक्छ केही क्षति
तर हाम्रो मष्तिष्क क्षमता नाशिँदैन
पहिरो आउँछ जान्छ
भत्किन सक्छ एक छेउ, बग्न सक्छ एक पाखो
तर अटल रहन्छ पृथ्वी
यो मानव समूदाय
मान्छेको इतिहास
एकाएक बनेको होइन
एकदिनमा रचिएको होइन
समस्याहरू आउँछन् जान्छन्
थपिन्छन् केही चुनौती
हुनसक्छ केही प्राविधिक क्षति
तर
हाम्रो इतिहास त्यत्ति कमजोर छैन
हाम्रो आत्मियता त्यत्ति क्षीण छैन
हाम्रो सभ्यता त्यत्ति निरीह छैन
अप्ठ्याराहरूबाटै यहाँसम्म आइपुगेका हामी
जानेछौँ अप्ठ्याराका असङ्ख्य घुम्तिहरू छिचोल्दै
तर सम्झिनुछ सावधानी
अपनाउनु छ सुरक्षा कवच
सोच्नु छ – प्रकृति संरक्षण ।
प्रकाशन हुन गइरहेको सपनाका अवयवको कभर