Monday, September 27, 2010

POEM

डेथ नोट्स र आशाहरू

सुवास खनाल


ए ! क्याप्सनमा ‘डेथ नोट्स’ लेखिएको
लुगा लगाउने मान्छे
चिन्यौ तिमीले मृत्युलाई ?

यो कुन बाटो आउँछ र कतातिर जान्छ ?
यसको बास र ठेगाना कुन हो ?
यसलाई किन मन पर्दैन सपनाहरूको घर ?
वा रहरहरूको हिमाल ?

निभाइदिन्छ बलिरहेको चम्किलो तारा
कुनै छद्मभेषी बादललेझैँ

हामीलाई  सिर्जनाहरू प्रिय छन्
हामीलाई  कल्पनाहरूले मात्र पनि बाँच्न सिकाएका छन्
तर  यो आउँछ हूरीझैँ मनहरूमा
वा रातहरूभैmँ अँध्यारो पोत्दै
सूर्यकै गालामा ,आँखामा ,ओठमा र जताततै

र फेरि यो मौनजस्तो पनि किन छ ?
र फेरि यो कठोरजस्तो पनि किन छ ?
र पनि आशाहरू
हुर्काएर बस्नेछौँ हामी निर्धक्क मनको खेत र बारीभरि

दियो जीवनको जब बल्छ
तब त सुन्दर रहेछ संसार
हर्कुलस, सायद त्यसै बचाइरहेको छैन प्रमिथस

ए मान्छे तिमीले भनेजस्तो
कहीँ पुग्नु होइन रहेछ जीवन
यो त शुरुवात मात्र रहेछ
हिँडिरहनु ,हिँडिरहनु र हिँडिरहनु
वाह ! जिन्दगी तेरो खातामा पुरानो हिसाबकिताब मेटिएकै छैन
तर नयाँ हावाका लहरहरू थुुुनिसकिएका रहेछन् तेरा दराजभरिभरि

‘डेथ नोट्स’
उफ् ! मलाई यो इस्पातले हिर्काएर
शरीरमा बसेको डामजस्तो लागिरहेछ

‘मेरो एउटै सपना जीवन हो’
म सपनाहरूमा कराएँ भने
वा म निद्रामा नै बोलेँ भने
मलाई नब्यँुझाउनु प्रिय
मेरो त्योभन्दा सुन्दर सपना केही हुने छैन ।

( धेरै मानिसहरूले डेथ नोट्स लेखिएको भेस्ट लगाएको देखेर प्रेरित )

२०६७।०६।०९















     

No comments:

Post a Comment

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog