Monday, April 25, 2011

My poem

राजनीतिक दूव्र्यसन,ईश्वर,समय,प्रकृति

सुवास खनाल

“जब म भत्किन्छु र
जोडिन्छु
आस्तित्विक काँचका पर्दाहरूमा
मेरो अनुहार
सर्वसुन्दर भएझैँ लाग्दै जान्छ

मेरो  सर्वप्रिय पात्र म
मेरो सर्वाधिक सत्य पनि म

मेरो आदिम मौनता
सर्वशक्तिशाली मेरो आवाज हो ”

यो पातलो अँध्यारोमा
धेरै टा......ढा
कोही कविता पढिरहेछ
मपट्टि बहँदै आएको बतासले
कविताका यी पङ्क्तिहरू सुनाएर गएको छ

मेरा चेतनाका तहहरू अपूर्ण–अपूर्ण लाग्दैछन्
मेरो आस्तित्विक स्वरूप विनिर्मित हुन खोजिरहेछ

म प्रकाशझैँ दौडिन सक्दिन
यो कविताको वेग समात्न
म रोकिएर धैर्य गरिरहन पनि नसक्ने भएको छु
फुत्किएका कविताका पङ्क्तिहरू भुल्दै

यो आवाज आफैँमा सङ्गीतमय छ
यो आवाज आफैँमा लययुक्त छ

कुनै भयङ्कर उचाइदेखि
झरिरहेको झरनाजस्तो
वा आफ्नै गतिमा आइरहने
समुन्द्री छालजस्तो
वा कुनै परिभाषाविहीन
वा सबै परिभाषायुक्त
यो आवाज विचित्र –विचित्र छ
यो आवाज अद्भूत –अद्भूत् छ

मैले ठम्याएसम्म
यो आवाज
कुनै ईश्वरसम्मत हुनुपर्छ
वा समयसम्मत हुनुपर्छ
वा प्रकृतिसम्मत हुनुपर्छ

मेरो चेतनाको मध्येदेशमा
विस्तारै झङ्क्रित् यो स्वर
आकृतिबेगर सुनिइरहेको
साँझको कुनै परिचित पदचापजस्तो लागिरहेछ
यता फेरि
एउटा पुरातात्विक दूव्र्यसन–राजनीति
यहाँका प्रत्येक मान्छेका अनुहारमा
टाँसिएको छ

यदी हुन्छ भने
तिम्रो आवाजको मसिनो सिर्कनाले
हिर्काइदेऊ यी मान्छेहरूलाई
हे ईश्वर,
हे समय,
हे प्रकृति,
अनि बिउँझिऊन् यिनीहरू होसमा
उनीहरूको आदिम बेहासीबाट
तर त्यत्तिबेला
तिनीहरूले आफू निकै पछि परेको
अनुभव गर्नेछन् ।

छतिवन–८,पावस,मकवानपुर
subaspoet@gmail.com
abha_subas2000@yahoo.com

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog