Wednesday, January 23, 2013

जन्म –एक दुर्घटना

सुवास खनाल

नशामा
कुनै उत्तेजक दृश्य
हेर्दै टोलाइरहेको
युवकमा
पनि हुन्छ देशको माया

कलेज खर्च धान्न
वा आमाको
च्यातिएको मझेत्रो सम्झिँदै
उपभोगको बजारमा
आफूलाई बिकाइरहेकी
युवतीको मनमा पनि
हुन्छ
–देशको सुन्दर तस्वीर

अभावले
लखेटेर
भाग्दाभाग्दै
देशको सीमा नाघेकाहरु सँग
बल्झिरहन्छ
राष्ट्रप्रेमको घाउ

मेरो देशका
ब्युरोक्रेट्स नायकहरु
पसल थापिरहेछन्
र बिक्रीमा छ –युवा सामथ्र्य

मरुभूमिबाट झिकाइएको
जीवझैँ
सर्वाधिक शुष्क मन बोकेको
यो देशको शासक
ओठमा
जादुगरी राष्ट्रभक्तिको लिपिस्टिक
दल्ने महाअभियानमा छ

कैयौँपटक
देशमा नाङ्गा मान्छेहरुको जुलुस हिँड्छ
जहाँ
अनुहार नभएकाजस्ता
सुर सकिएकाजस्ता
आÇनै खुट्टाहरुले नहिँडेर
कोही अरुले बोकीदिए जस्ता
मान्छेहरु
अत्यधिक लाम लाग्छन्

मलाई मेरा खुट्टाहरुले बोकून्
र म आफू हुन्छु
मैले मेरै आँखाहरुले हेर्न सकूँ
र म आफू हुन्छु
मेरो पेटमा पाचन भएर मैले प्राप्त गर्ने शक्ति
मेरै भूगोलमा उब्जिएको अन्न र फलफूलको होस्
अनि म आफू हुन्छु
मैले बोलिरहेको शब्दहरुमा
मेरो आÇनै साहसका अक्षरहरु मिलून्
र म आफू हुन्छु

यस क्षण
मैले बोक्दै हिँड्ने यो भारी शरीर
मेरो आÇनै हो वा होइन ?
मैले फेर्ने प्रत्येक श्वासमा
मेरो आÇनो जीवनको सुगन्ध
छ वा छैन ?
मेरो टाउकोको अघिल्तिर टाँसिएको
रुपाकृति
मेरो आÇनै अनुहार हो वा होइन ?
द्विविधाका अनगिन्ति प्रश्नहरु
कुनै विद्युतीय झड्काझैँ
मेरो मष्तिष्कका तारहरु हल्लाउने गरी कुद्दछन्

यो साँचो हो,
यो देशमा
यो समय
बाँच्ने हरेक मान्छेले
सोच्नु स्वभाविक छ
–म गलत समय किन जन्मिएँ ?

subaspoet@gmail.com

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog