Monday, January 28, 2013

सहिदआत्मा

सुवास खनाल   

म सहिदआत्मा

यदी म बोल्न सक्थेँ भने
चिनाइदिने थिएँ
मेरो तस्वीरअघि
अबीर र फूल चढाउन उभेका
मान्छेहरुमध्ये
को थियो मेरो कन्चटमा गोली दाग्ने
कसले थप्यो मेरो नाममा घरको तल्ला
कसले पठायो आफ्नो बच्चा विदेश पढाउन
राखेर मेरो बच्चाको नाम

सहिद भनेको कुनै खेती हो कि
जसको नाममा पेट पाल्न सकियोस्
सहिद भनेका कुनै हतियार हुन् कि
जसलाई प्रयोग गरेर व्यवस्था परिवर्तन गर्न सकियोस्

सहिद भनेका
कि त्यस्ता शब्दकोशका शब्द हुन्
जसको अर्थ जे लगाए पनि हुन्छ

म सहिदआत्मा

यदी म बोल्न सक्थेँ भने
भनिदिने थिएँ
–  म मेरो देशको थिएँ
तर पार्टीविशेषले हाम्रो मृत टाउको गन्यो
म देशको लागि बलिदान भएँ
तर पार्टीविशेषको झन्डा ओडाइयो

म सहिदआत्मा

यो अर्थमा भने खुसी छु
देशको एकदिन मेरो नाममा छ
मेरै हत्याराहरु पनि प्रायश्चितका निम्ति कम्तिमा एक दिन मलाई सम्झिन्छन्

म सहिदआत्मा
अर्को अर्थमा पनि म खुसी छ
चेतनाको पीडा बोकेर बाँच्न झन् मुस्किल छ मेरो देशमा ।

( आत्मस्विकृति : यो एक नारा कविता हो । कहिँकतै नारा हुनबाट जोगियो भने मैले कविताका त्यही विन्दुहरुलाई महत्वपूर्ण सम्झिनेछु )

subaspoet@gmail.com

लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog