Friday, January 23, 2015

Chintanko Pinas

चिन्तनको पिनास
  • सुवास खनाल

यो भयानक हुँदोरहेछ
चिन्तनको पिनास

पिनास लागेपछि
प्रिय हुँदोरहेछ
–एकै किसिमको मात्र गन्ध

भुलिँदोरहेछ –
दुश्मनले पनि कहिलेकाहीँ
गाउन सक्छ सुमधुर गीत
वैरी मानिनेको आँगनमा पनि
हुर्किन्छ भन्ने –विचारको सयपत्री

चिन्तनको पिनासले
गर्दोरहेछ निर्माण जब्बर पर्खालहरू
जहाँ निषेधित हुने गर्छ
स्वच्छ हावाको आवतजावत
बन्द हुनसक्छ – वार्तालापका अनन्त श्रृङ्खला

चिन्तनको पिनास
गज्जबको रोग रहेछ
जहाँ अग्लाहरु होचा –होचा देखिन सक्छन्
मूल्यवानहरु शून्य ठहरिन सक्छन्
अजङका विचारहरु विचारविहीन लाग्न सक्छन्

पिनास परेपछि चिन्तनमा
अप्रिय लाग्छ चिन्तनको चौतारो
जहाँ भेट हुनसक्छ विचार
पूर्वका
पश्चिमका
उत्तरका
दक्षिणका . . . यावत्

समयको वैचारिक प्रयोगशालामा
विचारहरु आए , गए
आउँदैछन्, जाँदैछन्
आउनेछन्, जानेछन्
जमेको थाहा छैन पोखरीजस्तो
तर
पिनास बोक्नेहरु चिन्तनमा
जम्दैछन् कुवाजस्तो

समय प्रश्न गरिरहेछ –
जमेर भेट्ने हो कुन समुद्र ?

चिन्तनको पिनास सिर्फ रोग होइन
अभिघात जन्माउने भ्रुण हो समयको

सोच्नु जरुरी छ–
चिन्तनमा पिनास सदैव हानिकारक छ ।

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog