Friday, May 15, 2015

राहत

|| सुवास खनाल ||
कविता बढ्ता आदर्शको भर्‍याङ चढेको मलाई मन पर्दैन । जीवनको कुनाकाप्चामा भएका यथार्थको प्रकटीकरण कवितामा आउनु नै पर्छ भनी सोची बस्छु । कविता बढ्ता शाश्वत हुनपर्छ भन्दै आफ्नो युग र युगसापेक्ष समय बिर्सनेले कवितामाथि उत्ति साह्रो न्याय गर्न सकेकोझैं मलाई लाग्दैन ।

अहिले केही समालोचक कविता यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भन्दै कवितालाई कुनै ज्यामितिमा र खोरमा लगेर थुन्ने दुष्प्रयत्नमा देखिन्छन्, यो ढोङबाहेक केही होइन । कविता समयले कस्तो माग गर्छ, त्यस्तै लेखिने हो । कविता नियोजन सम्भव छैन । वा, कवितालाई कसैले यो शोरुममा सुहाउँछ वा यो खोरमा बन्द गरिदिन्छु भन्दैमा कविता बन्द हुने वा सजिएरमात्र बस्ने चिज होइन ।

कविता शब्दमा बोलिनुभन्दाअघि यो अनाम चित्रझैं मस्तिष्कमा हमला गर्ने शक्तिको स्रोत हो । यसलाई कुशल शब्दले सही आकार दिन्छ । शब्द आफैंमा रसमय हुन्छन् भन्ने कुराको म पक्षपाती हुनै सकिनँ । शब्दको शक्ति हुन्छ तर सही ठाउँमा प्रकट भएमा ।

‘राहत’ कविता लेखन सन्दर्भमा कुरा गर्दा वि.सं. २०७२ वैशाख १२ मा (हालसालै) गएको भूकम्पको राहत वितरणमा देखिएको विसङ्गतिलाई बढी प्रभावमूलक ढङ्गले व्यक्त गर्ने प्रयत्न गरेको हुँ । तर, यसलाई अन्य प्रकोपसँग पनि सामान्यीकरण गर्ने चेष्टा राखें । कविहरू प्रश्नमात्र गर्छन् कि ? यो पनि फेरि प्रश्न रहला । यो भूकम्पबाट प्रभावित व्यक्तिलाई म र मेरो परिवारबाट यथाशक्य राहतनिम्ति सहयोग उपलब्ध गराएका छौं ।
यो राहतको सन्दर्भमा कुरा गर्दा अन्तर्राष्ट्रिय तथा सबै राष्ट्रिय निकायबाट पर्याप्त आर्थिक सहयोग आएको छ । तिनलाई नियमन गर्नसके देशलाई ‘रिकन्स्ट्रक्ट’ गर्ने एक सु–अवसर पनि हो तर त्यो सत्प्रयत्नको प्रयास नहुने सङ्केत देखेपछि लेखिएको कविता हो, ‘राहत’ । रचनागर्भले कविताको शक्ति कमजोर बनाउँछ कि भन्ने कुरा पनि चर्चा गरिन्छ । तर, मलाई रचनागर्भले कवितालाई थप स्पष्ट पार्छ र कविताको महत्वलाई बढाउँछ भन्ने लाग्छ ।

राहत

हेलिकोप्टर चढेर आइपुगे गाउँ–
केही थान त्रिपाल
केही बोरा चामल
केही बन्डल बिस्कुट
केही कार्टुन चाउचाउ
केही थान सेकेन्ड ह्यान्ड लुगा
र, चप्पल ।

प्रकोपमा छोरो गुमेको
हस्त तामाङले पाए एक थान चप्पल
घर लडेको सन्त परियारले
पाए केही पोका चाउचाउ
चन्द्र बाजेले
आफ्नो नाममा लेखाए त्रिपाल
बाबुआमा बितेका केटाकेटीले भेटे केही पोका बिस्कुट

पाडो मर्ने मधु बस्नेत
खेत पुरिने हरि चम्लगाईं
गोठ लड्ने शेरबहादुर बिकलाई
भाग पुग्यो हेलिकोप्टर उड्दाकोे हावा ।

यता सँगसँगै–
राहत संयोजक बुद्धिजीवि हरिशरणले
छोरीलाई किनिदिए सुनको औंठी
थपे बैङ्क खातामा केही रकम
उपसंयोजक हीरादेवीले
जोडिन् छड्के तिलहरी ।

रेडियोमा समाचार बज्यो–
लहरे गाउँमा राहत वितरण भो ।

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog