कवि अश्रफ फयादको मृत्युदण्डको विरोधमा लेखिएको कविता ।
सुवास खनाल
कसरी हत्या गर्न सक्छौ तिमी मेरो ?
जो जन्मिएन शारीरिक स्वरुपमा मात्र
जलाऊ मेरो जिउँदो शरीर
गिँड मेरो टाउको
छेड नशाहरु र लगाऊ करेन्ट
म मर्ने छैन
तिमीलाई मेरो शरीर पहाडभन्दा बलियो लागिरहेको छ
तिमीलाई मेरो शिर आकाशभन्दा उचो लागिरहेको छ
सोचिरहेछौ मेरो पाइतालाले नै सिङ्गो पृथ्वी डग्मगाइरहेछ
यो सब भ्रम हो भ्रम
जसको समाप्तिको निम्ति तिमी
सबैभन्दा धारिलो हतियार तयार गरिरहेछौ
ऊ छ कपासभन्दा नरम
जहाँ तिमी मलाई देखिरहेछौ
छैन म त्यहाँ
तिमी सम्झिरहेछौ कैद गरेको मलाई
म झन् स्वतन्त्र भइरहेछु
मेरो बहानामा
बरु कैद गरेका छौ संसारलाई मेरो बारे सोच्न
म जन्मिन चाहेको हो अगणित मष्तिष्कमा
जहाँ म जन्मिसकेको छु
म जन्मिन चाहेको हो मान्छेका मनहरुमा
त्यहाँ म हुर्किरहेको छु
तिमी थुक्न सक्छौ
बरु उज्यालोतिर फर्किएर
म तिनै किरणहरुमा डुल्न चाहिरहेको हुँ
तिमी धेरै चिन्तित छौ उसँग ,जो जन्मिएन
जो जन्मियो , उससँग त
तिमी आफैँ सुरक्षित छैनौ ।