Thursday, May 7, 2020

राम अविकास


लेखन जस्तै जीवन  (नागरिक न्युजबाट साभार )

राम अविकास




(0 votes)
लेखन जस्तै जीवन
दुनियाँबाट टाढा बस्न रुचाउने र सीमान्तकृतीय रेखामा बसेर गम्भीर रचना सिर्जना गर्ने तुल्सी थापा बौद्धिक कवि, नाटककार तथा कथाकार हुन्। उनका सिर्जना पढ्दा लाग्छ–सामान्य पात्र र झिनो कथानक भित्र गहन विचार एवं फराकिलो चिन्तन हुन्छ। यसरी उनी मान्छेभित्रको सुषुप्त मान्छेलाई जागृत तुल्याउँछन्।
गम्भीर दार्शनिक चेतना प्रक्षेपण गर्ने थापाका सिर्जनामा यर्थाथ र स्वैर कल्पनाको सम्मिश्रण पाइन्छ। उनको प्रयोगशील नाटक 'अमरसिंहको खोजीमा अमरसिंह' सफल भैसकेको छ। अन्तराष्ट्रिय नाटक महोत्सवको मञ्चमा यसले जिउँदोपना देखाइसकेकोछ। उनको 'एक निमेष अनन्तको' अर्को प्रयोगशील कृति हो। यो साना कविताहरूको संग्रह हो। अत्यन्त व्यंग्यमुलक ढंगले लेखिएका कवितामा पौराणिक र ऐतिहासिक कथ्यवस्तुलाई वर्तमानसंग तादात्म्यता मिलाइएको पाइन्छ।

जब यी सर्जकबारे सोच्छु–पाँच प्रश्नले मलाई उद्देलित बनाउँछन्।

प्रश्न– १, 'लेख्ने एक, हल्ला तीन' गर्ने अहिलेको समयमा 'तुल्सी थापा' कसरी अछुतो रहे?'

प्रश्न जटिल तब बन्छ जब थापाको लेखनी इतिहास खोतलिन्छ। २००२ सालमा मकवानपुरको भैँसेमा जन्मेका थापा विक्रमीको दोस्रो दशक प्ररम्भतिरतिरबाटै साहित्य सिर्जना कर्ममा सक्रिय हुन्छन्। बजार हल्लाबाट टाढै रहने दीर्घसाधक थापाको पछिल्लो समय 'फरक आकाश' २०७२ (कथा संग्रह) प्रकाशित छ। यस अघि उनका 'एक निमेष अनन्तको', २०५८ (दानाकविता संग्रह) र 'अमरसिंहको खोजीमा अमरसिंह नाटक', २०६१ (नाटक) प्रकाशित भैसकेका छन्।

प्रश्न– २, 'मोही माग्ने ढुङ्ग्रो लुकाउने' सामाजिक संरचनामा तुल्सी थापाको 'लेखनी र ब्यवहार' कसरी दुरुस्त राख्न सके होलान्?'

पछिल्लो समय नेपाली साहित्यमा नथाकिने गरी बहस हुने गरेका विषय मध्ये एक हो 'सर्जकको लेखनी र ब्यवहार एकै हुन सक्छ कि सक्दैन?' अधिकतम् बहसको निचोड भन्छ, 'संभव छैन।' लेखकले आफ्नो जीवन मात्रै लेख्दैन, 'वातावरण चित्रण गर्ने' एक माध्यम मात्रै हो भनेर 'लेखकीय धर्म'को हवाला दिँदै धेरै लेखकहरू आफ्नो जीवन आदर्श नभएको संकेत गर्छन। तर, थापाको लेखनी जस्तो, जुन किसिमको आदर्श पत्रहरू उनको सिर्जनामा भेटिन्छन्, उनको जीवनशैली पनि उस्तै छ।

प्रश्न–३, 'दौंतरी उस्तै हुन्छन्, सोच उस्तै हुन्छ' भन्ने आमधारणा तुल्सी थापामा किन लागू नभएको होला?'

तुल्सी थापा ७० कटिसकेका छन्। तर उनीसँग सात्क्षात्कार हुँदा यस्तो लाग्छ–उनको अनुहारबाट निस्केको तेजले वशिभूत गराइरहेछ, आँखामा देखिने आशावादीताले उमंग भराइरहेछ। उनको बौद्धिक र तार्किक प्रस्तुतीले नतमस्तक बनाइरहेछ। उनीसंगको 'एक बहस' मात्रै पनि 'सयौं पुस्तक' अध्ययन जस्तो आभाष हुन्छ। बयोबृद्धको मियोमा युवालाई घुमिरहेछन्। उनको सोच, सिर्जना र तार्किकता उनकै उमेरका अरु बृद्ध जस्तो देखिँदैन।

प्रश्न–४, 'आफू जस्तो, उस्तै च्यापु' भने जस्तो उमेरको हदबन्दीले अध्ययन गरिने पुस्तक, लेखक छनौटमा किन प्रभाव नपरेको होला?'

विषयवस्तुको छनौट, लेखकको चुनाईमा उमेरसँगै परिवर्तन हुँदै जान्छ। उमेरका हिसावले धार्मिक कृति अध्ययन गर्नु पर्ने हो थापाले। तर उनी 'अर्नेस्ट हेमिङ्वे, देवकोटा, खालिद हुसैंन देखि कुमार नगरकोटीसम्मलाई पढ्छन। भीम विरागका गीत देखि युवा पुस्ताका प्रयोगशील कवितासम्म सुन्न भ्याउँछन्। नयाँ कृतिको अपडेट युवासंग भन्दा उनीसँग बढी हुन्छ।

प्रश्न–५, 'भन्सारको जागिर पो जागिर त!' भने जस्तो सोच यिनमा किन आएन होला?'

इमान्दार नागरिकका रुपमा थापा पहाड जत्तिकै अटल रहे। रिटायर्ड अङ्ग्रेजी शिक्षक थापाले मकवानपुरका डाँडाकाँडामा विद्यालय स्थापना गर्ने देखि त्यसलाई समुन्नत बनाउनेसम्मका काम गरे। बहालवाला शिक्षक हुँदैका बेला थापालाई 'प्रजा विकास कार्यक्रम' को अधिकृत बनाइएको थियो। त्यस अवधिमा न आफूले कमाए न मातहतकालाई कमाउन दिए। उनको यस्तो अटल सोच आज पर्यन्त स्थिर हुनु अपवाद जस्तो लाग्छ।

लगभग दुई वर्ष अघि हामी (म, सुवास खनाल र छवि अनित्य)ले 'तुल्सी थापा'ज लिटरेचर' नामक फेसबुक पेज खोल्ने योजना बनायौ। त्यो पेजका लागि युवा कवि खनालले जे लेखे, त्यसले एउटा तरंग ल्यायो। उनले लेखे, 'मकवानपुरको साहित्यमा एक बलियो खम्बाझैँ तुल्सी थापा उभिइरहेका छन्। यो राष्ट्रले नदेखिरहेको एक कुनामा उनी सशक्त उभिएका छन्। एक अनरिकग्नाइज्ड हिरो हुन् तुल्सी थापा। थापाको लेखनी कुनै गहिराइप्रतिको एक उच्चतम अनुराग हो। यसको मतलब यो पनि होइन कि उनी डाइमेन्सनप्रति सचेत नहून्। मकवानपुरको साहित्यिक आकृतिमा यिनी मूलत नाटककार र कविका रुपमा बढी परिचित छन्। साथमा यिनका कथाले एक नवीन वैशिष्ठ्य बोक्दछन्। उनको लेखनीमा बढीजसो झल्किने विषय भनेको राष्ट्रियता,मानवता र दाशर्ि्नकता हो।'

खनालको यो धारणा भित्रै मेरा प्रश्नका उत्तर छन् कि भनी खोजी बस्छु तर आजसम्म सन्तुष्ट हुन सकेको छैन। माथिका पाँच प्रश्न बाहेक थप तीन प्रश्न (अप्रश्न) पनि छन् जसको उत्तर जान्न नपरोस जस्तो लाग्छ।

प्रश्न–१, आदर्शव्यक्ति भैकन पनि तुल्सी थापा किन अत्यधिक चुरोट सेवन गर्छन्?

प्रश्न–२, आफ्नो कृति माथि कहिलेकाहिँ नकरात्मक कमेन्ट आउँदा तुल्सी थापा अरु सर्जकको जस्तै थोरै भए पनि 'टेम्पर हाइ' किन हुन्छ?

प्रश्न–३, शान्त, शालीन, मृदुभाषी भैकन पनि यो उमेरमा तुल्सी थापा आफ्नी श्रीमतीको साथमा छुट्टै किन बसेका होलान्?

स्वगन्थन् जति सोच्यो त्यति लम्बिन्छ। लेखौटी तुर्नका लागि (कवि तथा समालोचक निमेष निखिलको शोधग्रन्थ 'मकवानपुरे कवि र कविता'बाट केही हरफ सापटी लिन्छु, 'समग्रमा तुल्सी थापालाई मकवानपुरका एक सचेत, बौद्धिक, तार्किक तथा प्रतीकवादी कविका रूपमा हेर्न सकिन्छ। भाषाशैलीका दृष्टिले थापाका कविताहरू जटिलता र सरलताको दोसाँधमा रहेको आभाष पाइन्छ। त्यसकारण पनि उनका कविताहरू सामान्य र बौद्धिक दुवैखाले पाठकका लागि आस्वाद्य देखिन्छन्। यति भइकन पनि थापाको समग्र काव्यभाषा सरलभन्दा जटिल नै देखिन्छ।'

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog