(१२ खरी डट कम मा प्रकाशित)
समय कसैको नियन्त्रणमा रहँदैन । हामी हाम्रा भ्रमहरूले समय नियन्त्रणका कल्पनाहरूमा पुग्ने गर्छौँ तर यथार्थमा प्रकृतिवत हर प्रवाह समयले आफैँ तय गरिदिने गर्दछ । बीचमा रहेर समय र प्रकृति अनुकूल हामी जीवनका यावत गतिहरूलाई सञ्चालन गर्दछौँ । सत्य के चाहीँ हो भने हाम्रा क्रियाकलाप र गतिविधिहरूका कारण समयले तय गर्ने बाटोको स्वरुपलाई बदलिदिन सक्छ । बाङ्गोटिगो बनाइदिन सक्छ ।
२०७१ सालमा ‘विचारको उल्टो नदी’ कविता सङ्ग्रह प्रकाशनपश्चात अर्को कृति तयारी हुन करिब पाँच बर्ष लाग्यो । ‘सपनाका अवयव’ नामको दोस्रो कविता कृति २०७६ चैत्र २१ मा सार्वजानिक गर्ने हिसाबले काम भइरहेको थियो । अचानक लक डाउन भयो । पुस्तक प्रकाशन र विमोचन रोकियो । यो लक डाउन सामान्य र स्वभाविक यस कारण भयो कि चिनको उहानबाट सुरु भएको कोरोना विश्वका विकसित र प्रतिष्ठित भनिएका देश साथसाथै अल्पविकसित र विकासोन्मुख देश कसैलाई बाँकी नराखी सम्पूर्ण विश्वलाई नै प्रभावित गरिरहेथ्यो । हजारौँ मानिसको मृत्यु भइसकेको थियो । हाम्रो निम्ति अस्वाभाविकजस्तो चाहीँ किन अनुभव किन भयो भने यस्तो घटना यसअघि हामीले व्यहोर्नु परेको थिएन । कमजोर मुलुक र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको उपस्थितिका हिसाबले निम्नस्तरमा पर्ने मुलुकका लागि लक डाउनको अर्को भरपर्दो विकल्प पनि थिएन ।
दोस्रो विश्व युद्धमा समेत एकै पटक विश्वका यति धेरै देश र मानिस प्रभावित भएका थिएनन् । अहिले कोरोनाका कारण प्रायश : सबै मुलुक प्रभावित छन् । विश्वको अर्थतन्त्रलाई क्रमश : कमजोर बनाइरहेको छ । समय कोरोना टाइम अघि र कोरोना टाइम पछि भनेर विभाजित हुने अवस्था बनेको छ । यस्तो परिस्थितिमा हामी रहेका छौँ ।
यसअघि मानिसले मनिसको साथमा सुरक्षित महशूश गथ्र्यो । सामूहिकताबाट धेरै समस्याका समाधान हुन्थे । सामूहिकता नै ठूलो बल रहेको अनुभूति हुन्थ्यो । यस्तो विरल घटना बनिदियो – कोरोना ( कोभिड उन्नाइस ), जसले एक्लो बस्नुलाई सबैभन्दा शक्तिशाली अनुभव गरायो । मान्छेहरू एक्लाएक्लै रहँदा बढी सुरक्षित हुने भए । कोरोनाले मानिसलाई अचानक आफूभित्रको यात्रामा लगिदियो । मानिसले बिर्सिँदै गएको आफ्नो शक्ति महशूश गर्न थाल्यो । जिन्दगीका अचम्मका हतारहरू, रफ्तारहरू एकाएक गायब भए । मान्छेले आफैँलाई कैदी बनाउनु पर्ने बाध्यात्मक अवस्था आयो । यति हुँदा पनि मान्छेका गतिविधिहरू रोकिँदा रहेनछन् । मान्छे शारीरिक रुपमा मात्र गतिवान हुने रहेनछ । मानिसको आन्तरिक (मानसिक) गतिलाई बाहिरी गतिले साथ दिने रहेछ । कोरोना समयपछि यही अनुभूतिले बढी गाँजिरहेछ । फ्रेन्ज काफ्काले त्यसै भनेका रहेनछन् –‘आइसोलेसन इज द वे टु नो आवरसेल्भ्स’ ।
पहिलो कविता सङ्ग्रह प्रकाशनपश्चात् विधागत हिसाबले अर्को विधामा सङ्ग्रह प्रकाशन गर्ने कि भन्ने इच्छा थियो । यो पाँच वर्ष लेखनका हिसाबले म आफू निकै शुष्कप्राय बसेछु । जीवनको गतिमा अरु पक्षको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । सम्भवत : यही कारणले पनि लेखन यात्रामा सुस्तता आएको हो । बीचमा साहित्य सङ्गम मकवानपुरको अध्यक्ष हुँदै गर्दा लेखन सङ्ख्यात्मक रुपमा कम रह्यो । शिक्षण पेशा त छँदैछ फेरि साहित्यका सङ्गठनहरूमा क्रियाशील हुँदै गर्दा व्यवस्थापकीय पाटोमा समय खर्च हुने कारण लेखन पक्ष छुट्दै जाँदो रहेछ । सुस्त गतिमा कविताहरू चाहीँ लेख्दै रहेँ । कविताहरूलाई एकत्रित गर्ने मौका मिलेको थिएन । जब झरना साहित्यिक परिवार मकवानपुर र यसका अध्यक्ष दीपक गौतमजीले मेरा कविताहरूको एकल वाचन हेटौँडामा राख्न आग्रह गर्नुभयो । कविताहरू खोज्न थालेँ । खोज्दै गर्दा करिब चालीसको सङ्ख्यामा कविताहरू फेला पारेँ । पाँच वर्षको समयावधिमा चालीस वटा जति कविता लेखिएछ । सामयिक विषयमा कविता लेख्ने आदत छ । कतिपय कविताका सन्दर्भ पुरानिएछ । भएका कविताहरू र मेरो मन एवम् विचारको पारो कति संयोजन हुन्छ, त्यसलाई ख्याल गरेर तेत्तीस वटा कविता छानेको थिएँ । सङ्ग्रहको नाम जुटाउनुमा पनि सिर्जनात्मक दवाबको महसुस हुँदो रहेछ । त्यही दवाबका बीच ‘सपनाका अवयव’ छनौट गरेँ ।
शब्दहरूमा
जसरी सँगालिन्छन् एकएक अक्षर
समुद्र
जहाँ मिल्छन् एकएक बुँद
हावा
जो हुन्् एकएक अणु
समय
जहाँ जोडिन्छ एकएक पला
हो त्यसरी नै
हुर्काउन चाहन्छु म
मेरा ससाना सपना
जहाँ बन्नेछ
युग निर्माणको जग
म एकैपटक
ठुलो सपनाको पहिरोमा थिचिन चाहन्नँ
म सँगालिरहेछु सपनाका अवयव ।
भारतका पूर्व राष्ट्रपति ए.पि.जे. आब्दुल कालम भन्नुहुन्छ – ‘ सपना त्यो होइन ,जुन निदाउँदा देखिन्छ तर सपना त्यो हो जसले निदाउन दिँदैन ।’ म त्यस्तै व्यवहारिक र जीवनवादी सपनाको सम्मोहनमा बाँधिने गर्छु । निदाउँदा देखिने सपना क्षणिक हो, यसले दिने सङ्केतहरूबारे मनोविश्लेषकहरू चर्चा त गर्छन् तर यो दीर्घायु लाग्दैन तर जुन सपनाले निदाउन दिँदैन त्यो सपनाको परिणाम दीर्घायु र प्रभावपूर्ण हुन्छ भन्ने सोच्छु । ‘सपनाका अवयव’ नामको यो कविता लेख्दै गर्दा मलाई लाग्यो कि हामी ठूला सपनाहरूको कल्पना गर्छौँ । ठूला इच्छाहरूको मोहमा फस्छौँ । जसले अति महत्वाकाङ्क्षी र सैद्धान्तिक मात्र बनाइदिन्छ । सपना त्यस्तो नहोस् जसको पहिरोमा थिचिएर हामी उठ्न नसकूँ । सपना त्यस्तो नहोस् जसको गति र परिमितिबारे हामीलाई हेक्का नहोस् । यस अर्थमा ससाना सपना र तिनका अवयव गुणकारी छन् भन्ने महत्व दर्शाउनु नै कहीँ कतै शीर्षक र कविताहरूको उद्धेश्य हो । पुस्तक लकडाउन अघि आउन त सकेन । समय सहज भएपछि आउनेछ ।
हामी सबै कल्पना गरिरहेछौँ –सबै ठीक भएर जानेछ । परिस्थिति सधैँ एकनास रहँदैन । मानव इतिहासपूर्वको जीवको इतिहास हेर्ने हो भने पनि संसारमा जीवको उत्पत्ति भइसकेपछि मेसोजोइक महाकल्पको अन्तिमतिर यस संसारका प्राय : जीव सखाप भएर गएका हुन् र फेरि त्यसपछि समय सहज हुँदै जाँदा अन्य किसिमको जीवको उत्पत्ति सुरु भएको हो । डाइनोसर लगायत थुप्रै घस्रिने जीवहरू यही महाकल्पमा उत्पत्ति, विकास र विनास भए । मानव इतिहासकै कुरा गर्ने हो भने पनि यस्ता विनाशक समय मानिसले विगतमा भोग्दै आएको छ । यस्ता खालका घटनालाई भोगेपछि नै थप समयानुकूल र परिमार्जित स्वभावका साथ जीवन यापनको प्रक्रिया सुरु हुने गर्दछ ।
लेखकहरूका लागि यो एउटा नयाँ सङ्घर्षपूर्ण घटना हो । यति धेरै खालि समय हुँदा पनि लेखकहरू किन लेखिरहेका छैनन् वा सङ्ख्यात्मक रुपमा किन रचना आइरहेको छैन भन्ने लाग्न सक्छ । तर यो सामान्य नै हो । यस अघि यस्तो घटना कहिल्यै व्यहोर्नु परेन । त्यस हिसाबले बढी प्रतिक्रियात्मक हुने भन्दा अवलोकन गर्ने , अनुभूत गर्ने र अनुभवहरूको सञ्चय गर्ने अवस्था बनेको छ । सम्भवत यो सञ्चयनको भविष्यमा प्रभावपूर्ण प्रकाशन हुनेछ । अहिले पनि थोरै रचना आएका छन् । नेपाली कविहरूले नेपालमा सत्ता सञ्चालनको निरीहताबारे लेखिरहेका छन् –कोरोनालाई जोडेर । तर अपेक्षित सङ्ख्यामा आएको छैन र आउँदैन पनि होला किनकी मानिस मानसिक दबाबमा छ र त्यो मृत्युको भयसँग जोडिएको छ ।
यस्तो अवस्थामा कवि लेखकहरूको उत्तरदायित्वका सन्दर्भहरू पक्कै आउँछ । लेखकहरू राज्यलाई उत्तरदायी बनाउन खबरदारी गर्नेमा त लाग्नै पर्छ साथसाथै सकारात्मक चिन्तन निर्माणमा जनतालाई सुसूचित गर्ने र मानिसको सङ्घर्षको इतिहास जहिल्यै चलिरहेको र चलिरहनेबारे चेतना अभिवृद्धिमा सक्रिय हुनु पर्दछ । आशा गरौँ कोरोना समय छिटै समाप्त भएर जाओस् । मानिसको सक्रियताको अभ्यास फेरि सुरु होओस् ।