Saturday, January 30, 2016

कवि अश्रफ फयादको मृत्युदण्डको विरोधमा लेखिएको कविता ।



कवि अश्रफ फयादको मृत्युदण्डको विरोधमा लेखिएको कविता ।

जो जन्मिएन

सुवास खनाल

कसरी हत्या गर्न सक्छौ तिमी मेरो ?
जो जन्मिएन शारीरिक स्वरुपमा मात्र

जलाऊ मेरो जिउँदो शरीर

गिँड मेरो टाउको 
छेड नशाहरु र लगाऊ करेन्ट
म मर्ने छैन

तिमीलाई मेरो शरीर पहाडभन्दा बलियो लागिरहेको छ 

तिमीलाई मेरो शिर आकाशभन्दा उचो लागिरहेको छ
सोचिरहेछौ मेरो पाइतालाले नै सिङ्गो पृथ्वी डग्मगाइरहेछ 

यो सब भ्रम हो भ्रम


जसको समाप्तिको निम्ति तिमी 

सबैभन्दा धारिलो हतियार तयार गरिरहेछौ
ऊ छ कपासभन्दा नरम

जहाँ तिमी मलाई देखिरहेछौ

छैन म त्यहाँ
तिमी सम्झिरहेछौ कैद गरेको मलाई 
म झन् स्वतन्त्र भइरहेछु 
मेरो बहानामा 
बरु कैद गरेका छौ संसारलाई मेरो बारे सोच्न 

म जन्मिन चाहेको हो अगणित मष्तिष्कमा

जहाँ म जन्मिसकेको छु
म जन्मिन चाहेको हो मान्छेका मनहरुमा
त्यहाँ म हुर्किरहेको छु  

तिमी थुक्न सक्छौ

बरु उज्यालोतिर फर्किएर
म तिनै किरणहरुमा डुल्न चाहिरहेको हुँ

तिमी धेरै चिन्तित छौ  उसँग ,जो जन्मिएन

जो जन्मियो , उससँग त 
तिमी आफैँ सुरक्षित छैनौ ।


Thursday, January 7, 2016

Poem

परिवर्तनको नाममा
सुवास खनाल
हरेक वर्षले बोक्दै आउँछ आफ्नो पकेटमा तीन सय पैसठ्ठी वटा दिन वा लिप वर्षमा खसाली हिँड्छ अर्को एउटा थप दिन हामी चाहिरहेछौँ हरेक दिनहरू निदाउँदै उडाउन सर्वाधिक निकम्मा रहन र शून्य सिर्जनाको उद्योग चलाउन अझै हामीलाई बहाउनु छ गफका आँधी तुफान -यो सरकारले केही गरेन - यो प्रधानमन्त्रीले देशलाई पतन गरायो - यसपालिको जाडो कति सार्हो - बुद्द फेरि जन्मिनुपर्छ -यो देशलाई हिटलर चाहिन्छ -वा जङ्गबहादुरको पुनरागमन समयको माग हो रू.१५ को चिया बहानामा उडाउँछ बाइकले रू.३५ को धुवाँ गफको पारो यति चढ्छ मानौँ आफैँले गर्ने हो अमेरिकाको राष्ट्रपतिको सिफारिस यहाँ भ्याउनु छ एउटै व्यक्तिले चोर र पुलिस दुबैको भूमिका निर्वाह गर्न हाम्रो ऐतिहासिक परम्परा हो विजय प्राप्ति इतिहासलाई कायम राख्न आत्मअभिमानको शिखर पुग्न हामीले राजनीतिलाई सातपुस्ता उतार्ने पहलमानी खेल बनाएका छौँ र चाहन्छौँ विजयी हुन यस नििम्त उक्लिनु छ सिन्डिकेटको सिँढी वा लिनुछ पालो प्रणालीको कुपन अग्रिम भुक्तानीमा डुलिहिँड्छ गुप्तचर समय स्खनलनको बीउ रोप्न परिवर्तनका मसिहाहरूलाई तैँ चुप मैँ चुप मैँ चुप तैँ चुप यस्तै शान्तिको खोजमा रहन्छौँ त्यसैले स्वभाविक बनेको छ यहाँ परिवर्तनको नाममा मात्र वर्ष र महिनाहरू फेरिनु मान्छेका उमेरहरू फेरिनु र हदै हुँदा व्यवस्थाका नामहरू फेरिनु यथार्थत : कहिले हो हामीले हामीलाई बुझ्ने ? कहिले हो हामीले हामीलाई चिन्ने ?

(२०७२ पौष २३ गते शनिबार शुक्रवार साप्ताहिकमा प्रकाशित )