Friday, December 31, 2010

POEM ON 2067 PAUSH 10

कविता

सम्बोधन

सुवास खनाल

यो सम्बोधन
तिम्रै निम्ति हो
ए मान्छेहरू
जो बोल्नै निम्ति
ओठ खोलेर ठीक परिरहेका छन्
यो सम्बोधन
तिम्रै निम्ति हो
ए रहरहरू
जो हावाको मसिनो झोक्काजस्तो
मनको कुनाहरूमा बयेली खेल्छ
यो सम्बोधन हिसाबकिताब नभएका
अथाह सपनाहरूलाई पनि
जुन क्षितिजमा उदाउँछ
एउटा हैसियतवाल सूर्य

सम्बोधनै सम्बोधन
यो मौनजस्तो समयलाई
जसमाथि उफ्रिरहेछ
एउटा लठैत वर्तमान

पैह्रो खसिरहेको पहाड
बहिरहेको आँधिको एक लप्को
फक्रिँदै गरेको फूलको सुगन्ध
पँखेटा फडफडाउँदै उडिरहेको पुतलीको लयमग्न नृत्य
हजार गुणा सम्बोधन
साराका सारा प्रकृतिवत चञ्चलतालाई

यो मान्छेहरूको सहरमा
म दोभासे कविता पढ्न आएको होइन

म मल्हमजस्तो
घाउहरूमा लेपिन चाहन्छु
म सुख वा दुखजस्तो
मान्छेहरूसँगै डुल्न चाहन्छु
बोली नहुनेहरूलाई
मौनताको अन्तिम अर्थहरू बुझाउन चाहन्छु
दृष्टि नहुनेहरूलाई
मनको दियालो बालिरहन भन्छु
मेरो सम्बोधन
युगयुग हिँडिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
युगयुग कुरिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
काँडाहरूलाई पनि हो
मेरो सम्बोधन
फूलहरूलाई पनि हो
मेरो सम्बोधन
जीवन गीतका गाउन बाँकी
हजारौँ हजार लय र धुनहरूलाई नै हो
मेरो सम्बोधन
सम्बोधित हुन योग्य
साराका सारा सम्बोधनहरूलाई नै हो

हे सम्बोधित सम्बोधनहरू
लेखिदिऊँ न एउटा समयको शाश्वत कथा
जसले कोरेको बाटैबाटो
हिँडिरहोस् अनन्तसम्म यो युग
र यो युगका सारथीहरू ।



छतिवन –८,पावस
मकवानपुर ।
subaspoet@gmail.com
abha_subas2000@yahoo.com

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog