Sunday, January 9, 2011

POEM

क्यानभासमा दुःखको रङ भर्दै म

सुवास खनाल

आँखामा पदचिन्ह छाडेर हिँडेका सपनाहरू
सुदूर कतै अल्झिरहेका होलान्

मेरो बेचैनले बिथोलिएका
मेरो छट्पटाइले आत्तिएका
मेरो अनिद्राले सताइएका
उनीहरू,
बाध्य भएर
ओझलिएको हुनुपर्छ–मेरा आँखाहरूदेखि
म भने
मौन कुरिरहेछु
म निदाउने यो सडक,यो पेटीमा, यो चौरमा,
यी आँगनहरूमा

“यदि मृत्युपछि पनि जीवन सम्भव छ भने
म सपनाको जीवन माग्न चाहान्छु”

हिँडेर नसकिएको यो इतिहासको बाटो
खै ! परिवर्तन नै भएन
भोगेर नसकिएका विगतका दूर्दिनहरू
खै ! फेरिँदै फेरिएनन्
भविष्य अँध्यारो सुरूङतिर डोरिइरहेछ
तैपनि, बाध्य भएर
त्यतैतिर निर्देशित छु म

खडेरिग्रस्त यी आँखाहरू सपनाका
हरसमय,
एम्बुसहरू देखिरहेछन्–बाटाहरूमा

यसबखत म,
मलाई एकातिर र संसार अर्कोतिर
राखेर  हेर्छु
एकातिर,क्यानभासमा दुःखको रङ
भर्दै छु म
अर्कोतिर,
उल्काहरू खसिरहेछन्–प्रत्येक पल
र क्षतविक्षत छन्–सारा मान्छेका आस्थाहरू ।


छतिवन–८,पावस
मकवानपुर
abha_subas2000@yahoo.com
subaspoet@gmail.com
January 2009

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog