Saturday, July 27, 2013

Election

चुनाब

सुवास खनाल

पाथी मयल भएको
धोतीको कापबाट
जाँघको लिखा तान्दै
अर्जेल बाजेले भने –
“चुनाब आएछ ”

खडेरीले रोपेझैँ
सिउँडीजस्तो कपाल सुम्सुम्याउँदै
आइते तामाङले
आफ्नो अघि जुम्ल्याहा हात गरिरहेका
नेतालाई नमस्कार फर्काए

क्षयरोगको फित्ताले
आयु नाप्दै गरेको
मने माझीको घरको भित्तामा
लेखियो चुनाबी नारा

बज्दैछ साँइला परियारको
सिलाइ मेसिनमा खटखटे आवाज
र सिउँदैछन् नयाँ रङको लुगा
आदेश छ –
‘ अक्षरहरू नमेटियून् ’

जेठा विश्वकर्मा
हेर्दैछन् ,छायाँ पारेर हातले आँखा
आफ्नो घरतिर आउने झोलाको रङ्ग
र झोला भिर्ने मानिसको चेहरा

माझटोलको चौतारोमा
बहन थाल्यो तातो हावा
नाच्दैछ विप्लबको भूमरि
छिरेर गाउँ

चुनाब
गाउँबाट जित्छ र सहर जान्छ
सहरबाट जित्छ र राजधानी जान्छ
राजधानीबाट जित्छ र विदेश उड्छ

यो देशमा
आइते तामाङ
अर्जेल बाजे
मने माझी
साइँला परियार
जेठा विश्वकर्मा
यी सबैले
जित्दैनन् कुनै चुनाब ???

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog