Saturday, August 17, 2013

Poem


राष्ट्रप्रेम

सुवास खनाल

मलाई जप्नु छैन
हरेकक्षण  
सन्ध्या मन्त्रजस्तो
अन्धराष्ट्रवादको नारा  
वा
कन्ठ गर्नु छैन
रुढ राष्ट्रिय गानको
हरेक शब्द र वर्णहरू

के यसपछि
अनागरिक
वा देशद्रोही ?

देखेर
पसिनाले गल्दै गर्दा माटोका डल्लाहरू
मलाई अत्यधिक सन्तोष हुन्छ
फैलिँदै गर्दा आकाश छोएर माटोको सुगन्ध
म हर्षविभोर हुन्छु

म जान्दिन
राखेर
सिरानीमा राष्ट्रिय झन्डा
हरदिन राष्ट्रिय सपना सुनाउन
म सक्दिन
हरक्षण बदलिइरहेको
राष्ट्रवादको परिभाषा घोक्न

जब हेर्छु
आफ्नो भूगोलका मान्छेहरूको स्वप्नील अनुहार
अङ्कुरण भइदिन्छ प्रेमको बीज
जब सम्झिन्छु
पुर्खाहरूको
बलशाली इतिहास
कहीँदेखि भरिएर आउँछ
शक्तिको अनौठो स्वरुप

सक्दिन
बेसुरा बर्बराउँदै हिँड्न देशको नाम
र मलाई
टाँसेर
केही गर्नु छैन
आफ्नो टोपीमा
यो देशको नक्सा  

तर
मलाई यो देश
प्राणजत्तिकै प्रिय छ ।




Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog