Friday, March 7, 2014

थाहा एफ एम तथा रेडीयो नेपालको उद्गार कार्यक्रममा प्रसारित

कविता

सन्दर्भ : विचार /आत्मलाप

  • सुवास खनाल

प्रश्न : कविजी तिम्रो कवितामा विचारका हाँगाहरू कहाँ छन् ?
उत्तर : विचार के हो ?
प्रश्न : कविजी तिम्रो कविताको छेउ र टुप्पो कहाँ छ ?
उत्तर : छेउ र टुप्पो, के को कहाँ हुन्छ ?
प्रश्न : कविजी तिम्रो भविष्यआँकलन , भविष्यइच्छा खोई ?
उत्तर :  त्यो भविष्य रहरको गुच्चा हो ? वर्तमान सही बाँच ।

विचारमा प्रष्ट छु
गोहीका दाँतहरु गाडेर विचारमा
प्राप्तिको क्याक्टस फुल्नु छैन

यहाँ
विचारहरू विचारहरूमा मात्र बाँचे बिचरा विचारहरू

मलाई व्यवहारको रङ्गीन मौसम मनपर्छ
जहाँ गाडियोस् विचारको जरा
मलाई यथार्थको विपनामा ज्युनु छ
जहाँ उम्रियोस् चेतनाको सुनाखरी

प्रश्न : कविजी जिन्दगी के हो ?
उत्तर : जिन्दगी के होइन ?
प्रश्न : कविजी कविता के हो ?
उत्तर : कविता के होइन ?
प्रश्न : कविजी तपाइँ उभिनु भएको छ ?
उत्तर : म अभिएको छु । आफ्ना विचारका जराहरूमा टेकेर ।

म उभिन्छु ,सुत्दा, हिँड्दा, शौच गर्दा, खाँदा , नाच्दा ,संभोगमा, यावतमा
विचारका जराहरूमै टेकेर ।

खानु , विचारले विचार हो कि होइन ?
सुत्नु, विचारले विचार हो कि होइन ?
नाच्नु, संभोग गर्नु विचारले ,
अध्ययनरत हुनु विचारले,
यावत विचार हो कि होइन ?
सोच्छु–
यहीँ गाडिन्छ विचारको जरा र उठ्छ चेतनाको लहरा

ओढ्छु आफ्नो मनरङ्गी छाता
लाउँछु आफ्नो मनरङ्गी लुगा
बोक्छु आफ्नो मनरङ्गी झोला

छाता विचार हो कि होइन ?
पहिरन विचार हो कि होइन ?
झोला विचार हो कि होइन ?

हिँड्छु ईश्वरलाई ढाड फर्काएर
टक्टक्याउँछु मष्तिष्क र झार्छु धूलो

कहिलेकाहीँ
सम्झेर देशको क्रुर समय र त्यसको शासक
गर्छु आमचकारी गाली

यो विचार हो कि होइन ?

प्रश्न : कविजी तिमीसँग देशपे्रम कहाँ छ ?
उत्तर : देशप्रेम खल्तीमा बोक्ने रुमाल हो ? जुन देखाउँदै हिँड्न सकियोस् ।
प्रश्न : कविजी तिम्रो जिम्मेवारी कहाँ छ ?
उत्तर : जिम्मेवारी आवश्यकतामा निर्वाह हुन्छ ।
    यो होइन कि एफ.एम. मा विज्ञापन होस् ।

सडकमा देख्छु ब्युरोक्रेट्स बिम्ब
जब कुनै अव्यवस्थित सक्षम मानिस
बोकेर बिफरको अनुहार
केही माग्न खुट्टा ढोग्दै जोर्छ दुई हात

आहत हुन्छ मेरो विचार
कुनै नगरनायिकाको कोखमा
जब उम्रिन्छ दुस्वप्नझैँ नवपुस्ताको सभ्यता

जब देख्छु
नगदरामहरुले
हिर्काएको बचनको कटबाँसले श्रमिक सन्ते क. . . ख. . . ग. . .लाई
छोप्छ आवेगको आँधीले मन आकाश र धमिलिन्छ अनुहार

अनुहार धमिलिनू विचार हो कि होइन ?

लेख्छु कविता
कफीन बक्समा साटिएको अर्थराजनीतिको उल्टो धारमा
भन्छु / भनिरहन्छु –‘नालायक सरकार’
जबसम्म बिझ्छ देशको युवामा बेरोजगारीको खिल

महानायकको कोटको खल्तीमा
जबसम्म निदाउँछ कानून
बगिरहन सक्छ विचारको उल्टो नदी

जबसम्म सामथ्र्यको अनुहार थिचेर बनिरहन्छ
कुनै नायक नामको शालिक
तब त भत्किन्छ यसको शरीर

यहाँ
विचारहरू विचार हत्यामा मात्र संलग्न छन् विचरा विचारहरू

भो चाहिएन मलाई
दारुण मष्तिष्क खेतमा अर्थहीन फक्रिने
कुनै छद्मभेषी विचार

हुनुपर्ने
विचारका तहहरुमा उक्लेर
बाँचोस् मान्छेले विवेकी व्यवहार
उड्नुपर्ने
विचारको बगैँचादेखि अर्थयुक्त सुवास
डुल्नुपर्ने विचारको बोटमा फक्रिने फूलको सहरतिर रङ्गीचङ्गी पुतली
र विचारको आकाशमा
नहुनुपर्ने असिमित विभाजनका धर्काहरु

म त खोज्दैछु बिपना बिम्बका विचारहरु

प्रश्न : कविजी कविताको अन्त्य भयो ?
उत्तर : कविता सुरु मात्र हुने गर्दछ ।
 . . . . . . . . . . ।. . . . . . . . . . । . . . . . . . . . . । . . . . . . . ।

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog