Saturday, December 19, 2015

Terrorism

२०७२ पौष ४ शनिबार अन्नपूर्ण पोष्टमा पकाशित कविता

आतङ्कवाद

सुवास खनाल

म जान्न चाहन्छु
आतङ्कवादको परिभाषा

जसको छायाँले डराउँछ युग
ऊ देखाउँछ औँला कमजोरहरुतिर फर्काएर र भन्छ– आतङ्कवादी

आफ्नै कर्तूतहरुसँग पिल्सिएर जब पर्दैन निद्रा
सम्झिन्छ –स्वार्थको साझेदारीमा बेमेल अनुहार
र भत्किन्छ एकपटक
भन्छ –‘साला आतङ्कवादी !’

निदाउँदै गएको सहरमा
जब शासक चुम्दै हुन्छ चौथो वा यस्तै नम्बरकी प्रेमिकाको ओठ
त्यसबखत
पड्केको हुनुपर्छ कुनै बम
हुन्छ उसको ब्युँझाइ भयानक
कामातुर आँखामा एकाएक पलाउँछ आगो
र बर्बराउँछ –
जोसँग छ विपरीत अनुहारको रङ
ऊ हो –एक नम्बर आतङ्कवादी

आतङ्कवाद
जो भएको छ रेडिमेड चस्माको व्यापार

कहाँ छ उत्तर ?
आई.एस. किन सुत्दैन रातरातभर ?
लादेन किन व्युँझिन्छ पटकपटक ?
सद्याम किन खोपाइरहन्छ अमेरिका नामको ट्याटु आफ्नो गुप्ताङ्गमा ?

ओबामाको कन्चट छेवैमा किन लागेको छ दाग ?
पुटिन किन कन्याइरहेछ औँलाको काप ?
फ्रान्स मोसो दलेको अनुहार बोकेर किन गइरहन्छ सङ्ग्राहलय ?
मोदी किन उच्च स्वरमा भट्याइरहेछ ऋचा  ?

म बुझ्न चाहन्छु आतङ्कवाद

यो कसरी हो ?
प्रतिशोधमा औलाकोे बदला टाउको माग्ने शान्तिवादी    
र टाउको छिनाली दिन नसकेर विद्रोह गर्ने
आतङ्कवादी

यो समय म बुझ्न सकिरहेको छैन आतङ्कवाद
म जान्न चाहन्छु
आतङ्कवादको परिभाषा ।                                                                                                                      

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog