Wednesday, December 25, 2019

सौन्दर्यभित्र सौन्दर्य खोज्ने कवि

सौन्दर्यभित्र सौन्दर्य खोज्ने कवि

सीमा आभास
नदी आफैँ सुन्दर हुन्छ । त्यही सुन्दर नदी उल्टो बग्यो भने पक्कै नयाँ सौन्दर्य जन्मन्छ । त्यही सौन्दर्य भित्रको सौन्दर्य खोज्ने क्रममा कविता आकासमा बाँकटा हान्दै छन् कवि सुवास खनाल । 
सदियाँैदेखि विचारका नदीहरू उल्टो बगे । आदर्शहरू पनि उल्टो नै बगे । शान्ति उल्टो बग्यो । नैतिकता उल्टो बग्यो । त्योभन्दा ठूलो बिडम्बना के हुनसक्छ, इतिहाँस पनि उल्टो नै बग्यो । इतिहासमा उल्टा अक्षरहरू लेखिए । राजनीति उल्टो पारेर गरियो । सुल्टो शब्दसँग मोह राखेर हामीले उल्टो कर्म किन रुचायाँै ? कविहरू सधैँ सत्ताको उल्टो फर्किएर कर्किए । उल्टो विचार प्रेषण गरे । यसै सन्दर्भमा उल्टै विचार बोकेर नेपाली साहित्यमा उल्टा कवि जन्मिएका छन् । विचारको उल्टो नदी जन्माएर । उनले विचारको उल्टो नदी जन्माउँदा आफू पनि उल्टा जन्मिएका छन् । उनी यसकारण उल्टा भएका छन् कि उनी भौतिक विज्ञानका विद्यार्थी । कविताको खेती गर्छन् । 
कविको नदी सँधै उल्टो बग्ने गर्छ । समाजभन्दा उल्टो बग्ने गरेको छ कविता । कविता सँधै समाजले तोकेको नियम र दायराभन्दा उल्टो बग्छ । समाज उल्टो बग्दा अस्तव्यस्त हुन्छ । समय उल्टो बग्यो भने कुरुप हुन्छ । तर काव्यको नदी समयको बतासभन्दा उल्टो बग्यो भने सुन्दर हुन्छ । समाजको अनुहारमा काव्यको उल्टो अनुहार आयो भने सौन्दर्य बन्छ । 
सौन्दर्य सिर्जनाको बाटोमा हिँड्ने रहर गर्छन् कवि सुवास खनाल । “उल्टो विचारको नदी”को किनारामा उभिएका छन् कवि । त्यही किनाराबाट उनी काब्य चेतको दहमा डुबुल्की मार्ने कोसिसमा छन् । उनका शब्दहरु सौन्दर्यको नदीमा बगेका हुन्छन् । कविताको बगाइ भनेको संवेगको हो, सौन्दर्यको हो, आविष्कार निर्माणको हो, उर्जाको हो । 
कविताहरु कविका आत्मविश्वास हुन् । कविको स्वाभिमान र स्वविवेक पनि हो कविता । कविताहरु बग्दा नदीले जस्तो सुुसेली हाल्छन् । पतंगले परागलाई गरेकोजस्तो प्रेम छोडिन्छन् कविताका हरफहरूमा । कविताले हावाको जस्तो गान उब्जाउँछन् पाठकका ढुकढुकीमा । कवि हुंकार गर्ने सामथ्र्य राख्छन् कवितामा । तर, कविताले सँधै सालिनता रुचाउँछ । कोमलता मन पराउँछ । अराजक स्वभावको पनि हुन्छ । उमेरविहीन र समयविहीन पनि हुन्छ कविता ।
सुवास खनालको कवि हुंकार छ । स्वाभिमान छ । सबै कुरा हुँदाहुँदै पनि कवि विचलित छन् । उनीसँग समयको विचलन छ । समयप्रतिको अविश्वास छ । हुँदाहुँदा उनी आफै प्रति पनि आश्वस्त हुन सकेका देखिँदैनन । उनी आफूबाट हराएको आफ्नै सुचना समाजलाई सुनाउन बाध्य छन् । एउटा कविले कविताको सौन्दर्यमा यति विस्मयको खबर छोड्नु एउटा कुरुप समयको सुन्दर चित्रण हो । उनी आफूबाट हराएर आफैलाई खोज्दै हिड्ने कोसिसमा छन् । शायद यो कोसिस महात्माहरूले पनि गरे । आफूले आफैलाई खोज्ने क्रममा कोह महात्मा बने, कोही बुद्ध, त कोही जोगी । मान्छेहरूको भीडमा कवि भएर सुवास खनाल पनि आफूलाई खोजिरहेका छन् । 
उनका कवितामा उनी आफँैलाई भेट्नु र आफूलाई खोजि हिँड्नु एउटा दरिलो चुनौती हो स्वंय उनको लागि । एउटा कविले आफूलाई भेटेको दिन, वा आफूलाई राम्रोसँग चिनेको दिन कि त कविता लेख्न छोड्छ, कि त साँच्चै राम्रा कविता बोकेर जन्मन्छ । सजिलो यहिँनेर छ कविता लेख्ने क्रममा आफूलाई खोज्न भनेर आफैँबाट फुत्किने कोसिस गर्नु र आफैँलाई नभेट्नु जति सुखद केहि हुँदैन । यो एक आश्चर्यको कुरा हुन सक्ला । तर सत्य यही हो, आफूलाई थाहा भएजस्तो लाग्नु तर साँच्चै थाहा नपाएको अवस्थामा रहनु केहि हदसम्म सिर्जनशील बन्न सकिन्छ । तर त्यो सिर्जना हुन्छ हुँदैन ? त्यसको आयु हुन्छ हुँदैन ? हामीले भन्न सक्दैनौँ । सिर्जनाको मुख्य न्यायधिस भनेको समय नै हो । समयले पाठकहरू जन्माउँछ । आजका पाठकहरूले सिर्जनासँग संवाद गर्ने सामथ्र्य राख्छन् । तर सिर्जनाले पाठकसँग संवाद गर्ने सामथ्र्य राख्न सक्नुभन्दा सुखद कुरा के हुन्छ ? हाम्रा रचनाका आयुदाता भनेका पाठक हुन् । पाठकले हाम्रा सिर्जनासँग बातचित गर्न सकेनन् भने हाम्रा रचनामा सिधै एसिड हानिदिन्छन् । अनि हामीले लेख्नु र नलेख्नुको के अर्थ ?
भलै अँध्यारोमा रहून्, तर सुबास कवितामा आविस्कारको टर्चलाइट बोकेर हिँडेका छन् । उनी समयसँग सचेत छन् । समयले हराएका आफन्त नातासम्बन्ध त हामीले देखेका छाँै । तर तिनका आँसुको आवाज कति सुनेका छौँ ? ती नसुनिएका आवाजहरू उल्टो नदी भएर बगेका छन् । उनी स्वंय हराएको खबरमा दौडन्छन् पसिना पसिना भएर । उनी आफूलाई भेट्न दौडिरहेका छन् । उनी आफूलाई खोज्न निस्किएका छन् आफूबाट । यसै क्रममा उनी उल्टो नदीमा हेलिन्छन् । र, त्यसैमा डुंगा खियाउँछन् । कविता जन्माउँछन् । उनीसँग लोभ छ । आफ्नो नाम लेखिएको ठाउँ पत्ता लगाउने । उनलाई जान्नु छ केही रहस्यमयी कुरा । आफ्नो नाम सुवास खनाल आफ्नो शरीरको कहाँनेर चेपिएर झुण्डिएको छ ? विज्ञानका विद्यार्थी भएका कारणले होला उनी अन्दाज लगाउँछन, आफ्नै मस्तिष्कको मुन्तिर शायद लेखिएको हुन्छ आफ्नो नाम सुवास खनाल । तर विज्ञानले भनेको कुरालाई यति सजिलै मान्न कविता चाहिँ तयार हुँदैन । 
कविको हृदयलाई देखाउने ऐना भनेको कविता नै हो । हृदय विराट त हुन्छ नै । तर त्यो विराटतालाई कविले कति चिनेको छ भनेर थाहा पाउन एकदमै सजिलो छ । उसको कविता पढेपछि छर्लंगै हुन्छ ऊ को हो ? उसको हृदयको आकार कस्तो छ ? उसले कति परको समयलाई देखेको छ ? ऊ स्वयंले आफ्नो समयलाई आविस्कार गर्न सकेको छ कि छैन । कविले आफ्नो समयको आविस्कार आफैँले  गर्न सक्दाचाहीँ साह्रै सुन्दर हुन्छ । 
कविले समातेको कलमको सोच, त्यस कलमले दिने सौन्दर्यचेत, श्लील र अश्लील चेत, काव्यिक तागत उसको कवितामा स्पस्ट देखिएको हुन्छ नै । कविले कविताको धरहरा कति अग्लो बनाउनसक्छ ? समयान्तरमा त्यो धरहरा ढल्छ कि ढल्दैन ? त्यो धराहरामाथि को को पुग्नसक्छन । धरहराको टुप्पोमा पुग्ने पाठकले त्यहाँबाट के के देख्न सक्छन् ? कविताको धरहरामाथि पनि पुग्यो तर त्यहाँबाट केही देखिएन भने त्यसको कुनै अर्थ रहन्छ कि रहँदैन ? स्वंय कविले मुल्यांकन गर्नसक्छ । अबका कवि आफ्नो कवितामाथि जवाफदेही हुन जरुरी छ । आफूले लेखेको कविताको पाठक आफू हुन सक्नुपर्छ । कविता पढेर आनन्दित हुने त छँदै छ पहिला आफूले बुझ्नु पनि पर्छ । आफ्नो कविता आफूले बुझ्न सकिएन भने अरुले कति बुझ्छन् ? त्यसको बारेमा पनि सचेत हुन जरुरी देखिन्छ ।
कविता त कुरुपतामाथि रुपवान हुनुपर्छ । अश्लीलतामाथि श्लील हुनुपर्छ । हामीले सामान्यतया यौनसँग जोडिएर आएको कुरालाई अश्लील मान्ने प्रचलन छ । तर त्यसो होइन । सबैभन्दा सुन्दर त यौन नै हुन्छ । यौनलाई कुरुप बनाइयो भनेचाहि अश्लील हुन्छ । आजका कविहरुलाई कुरुपता चिन्ने चुनौती त छँदैछ । साथै कवितालाई अश्लीलताबाट जोगाउनु अर्को कठीन काम देखिन्छ । चाहे यौनको सौन्दर्य होस्, चाहे प्रेमको सौन्दर्य होस्, चाहे सौन्दर्यको पनि सौन्दर्य होस् । त्यसलाई कवितामा सौन्दर्य दिन सकिँदैन भने ती बिषयलाई नछुनु नै बेस । किन कि जीवनमा प्रेम र यौन सौन्दर्य बनेर अघि नै आइसकेका हुन्छन् । त्यस सौन्दर्यलाई चलाउने बित्तिकै तिनीहरु विचलित हुन्छन् र बिग्रिन्छन । जसरी यौनले जीवनलाई मात्र प्रेम गर्छ, त्यसै गरी कविताले सौन्दर्यलाई मात्र प्रेम गर्छ । कविताबाट सौन्दर्य विचलित भयो भने कविता त कविता नै रहँदैन । यदि रह्यो नै भने पनि त्यो घाइते शिवाय रहँदैन । 
कविताको अर्को अनौठो बानी हुन्छ । कविता आफू बोल्न पायो भने खुसी हुन्छ । जब कवितामा कवि बोल्न थाल्छ तब कविता नौ डाँडा काटेर भाग्छ । अनि के हुन्छ कविताको हाल ? त्यस्तो बेलामा कविता भनेर लेखिएका कुराहरु कलमको टुप्पोमा हैन मसीदानीको पिंधमा गएर थिग्रन्छ । तर कवि चाहिँ बकबक गरिरहेकै हुन्छ । कविताको बिडम्बना नै यही हो । कविता भनेर पाठकलाई दिइएका कुरा कविको बकबक हुन पुग्छ । कविताचाहीँ मसीदानीभित्र निदाइरहेको हुन्छ । 
दायाँ बायाँ तलमाथि जताबाट हेरे पनि कविता सुन्दर त हुनु नै पर्छ । त्यो सुन्दरतालाई पातलो घुम्टो ओढायो भने झनै सुन्दर हुन्छ । सुन्दर घुम्टोभित्रको रहस्यमयी सौन्दर्य चाहिँ कविता हुन्छ । कविता जब पाठकसम्म पुग्छ,  पाठक स्वंयले त्यो घुम्टो उघारोस् र देखोस केहि रहस्य । देखोस् केहि नयाँ सौन्दर्य । जुन कुरा यस अघि पनि भनिएको थिएन, र पछि पनि कसैले भन्न नसकोस । यस अघि नदेखिएको रहस्य देखाउन चाहन्छ कविता । पाठकले उठाउन सक्ने घुम्टो चाहिँ कविले ओढाइ दिनुपर्छ । घुम्टै उठाउन सकेन भने कविताको कुनै अर्थ पनि रहदैन । 
कविता सँधै चाहन्छ पाठकसँग दोहोरो संवाद गर्न । त्यो संवाद गर्दा मस्तिष्कको भाषा मन पर्दैन कवितालाई । हृदयको भाषामा बोल्न चाहन्छ । तर बिडम्बना छ । हामी मस्तिस्कको भाषाले कविताको हृदय झक्झक्याउँछौँ । त्यही हुनाले होला शायद, कहिले कविता हामीबाट भाग्छ । कहिले हामी कविताबाट भाग्छौँ । यो लुकामारी त चलिरहेकै छ । 
सुवास खनालभित्र एउटा कवि जिउँदो जाग्दो भएर आएको छ । उनका कविताले उनीभित्रको समयलाई बोल्छ । उनीभित्रका कमजोरी बक्छन् । उनको सौन्दर्यलाई देखाउँछन । उनको विचारलाई उधिन्छन् । उनीभित्रको कविलाई सुवास खनाल बोकेर हिँड्छन् । स्वयं उनी स्वतन्त्र हुन त पक्कै पनि सम्भव छैन तर उनीभित्रको कवि यो समाजसँग बेमतलबी छ । ऊ आफू खुसी हिँड्छ, बोल्छ । कविमन आफू खुसी बाँचेको छ । ऊ कविता बोकेर हरदम हिँडेको छ । कवितामा उसले प्राण देखेको छ । एउटा कविले कवितामा प्राण भर्न सक्नु जति आनन्द संसारमा अरु के हुन सक्छ !   
मंगलमय सिर्जनाको शुभकामना कवि सुवास खनाललाई !! 

समृद्ध समाजको असल यात्रा

समृद्ध समाजको असल यात्रा सुवास खनाल  - ४ हप्ता अगाडि Facebook Twitter Pinterest WhatsApp   Share   Tweet   Share   Share अहिलेको समयलाई सूचन...

Search This Blog