छविरमण सिलवाल
वर्तमान पुस्ताका अत्यन्त प्रभावशाली कवि हुन् सुवास खनाल । कर्म र जन्मभूमि दुवै मकवानपुर हो उनको । मोफसलमा बसेर राजधानीलाई धावा बोलिरहेका छन्– उनका कविताहरूले ।
साहित्य लेखनसँगै विभिन्न साहित्यिक संघसंस्था मार्फत साहित्य सेवामा निरन्तर लागिरहेका खनालको पहिलो कवितासंग्रह विचारको उल्टोे नदी (२०७१) मा प्रकाशित भएको थियो । र, भर्खरै २०७७ मा दोस्रो कवितासंग्रह सपनाका अवयव प्रकाशित भएको छ ।
नेपाली कवितामा उनको निकै लगाव छ । उनी नेपाली कवितामा मन, वचन र कर्मले निस्वार्थ लागेको उनका कविताहरू पढेपछि थाहा हुन्छ । उनी जीवन र जगतका कविता लेख्न रुचाउँछन् । उनी विज्ञानका विद्यार्थी भएकाले उनका कविताहरूमा विज्ञानका सुगन्धहरू पनि घोलिएका छन् । हुन त मान्छे केही समयका पाहुनामात्र हुन यस धर्तीका, तैपनि लोभलालचबाट मुक्त हुन भने सकेका छैनन् । अहम्का पहाडहरू चढिरहेका छन् ।
हो, सुवास खनालका कवितामा लोभी, लालची र अहम्का पहाड उक्लिरहेका मानवहरूलाई रोक्ने सामथ्र्य पाइन्छ ।
एउटै बगैँचामा विविध फूलहरू आ–आफ्नै सुगन्ध बोकेर फक्रिरहेका जस्तै उनका कविताहरूमा पनि यस्तै विविधता देखिन्छ । उनकोे कविताको मूल उद्देश्य भनेकै मानवीय संवेदनासँग जोडिनु नै हो । चाहे ती नेता हुन् या समाजका अगुवा नै किन नहुन्, मानवताको भावनासँग खेल्ने सबै मान्छेका शत्रु नै हुन्, त्यसकारण उनीहरू विरुद्ध हामीले केही बोल्नैपर्छ । कवि खनाल कवितामार्फत बोलिरहेका छन् ।
शालीन कवितामार्फत जनमनसँग खेलबाड गर्नेहरूका विरुद्ध उछितो कढिरहेका छन् । नेपालको राजनीति प्रणाली र नेता भनाउँदाहरूको रबैयाले गर्दा उब्जिएका यावत समस्याहरूको समाधान गर्नु भन्दा पनि त्यसलाई बढाउने उनीहरूको प्रवृतिले दिक्क बनेका छन्, कवि । र, त उनीहरूलाई कवितामार्फत धमिराको संज्ञा दिन्छन्ः–
न्याय–निसाफ बोक्ने फाइलमा जब हाम्रो प्रवेश हुन्छ
इन्साफले बोक्छ बांगो बाटो
जब छिर्छौं हामी चुपचाप राजनीतिमा
व्यवस्था फेरिन्छ तर व्यवस्थापन उही हुन्छ
सुस्तरी जब प्रवेश हुन्छौं
शिक्षा नीतिहरूमा
शिक्षा बन्छ– निकम्मा उत्पादन केन्द्र
बौद्धिकहरूलाई गर्छौं मौन आक्रमण
र, पार्छौं प्यारालाइज्ड
धमिरा क्या धमिरा
हामी धमिरा ।
पृ.२१
उनका कविताहरूले मानवीय संवेदनामा जोड दिएका छन् । उनी कवितामार्फत आफ्ना मनका भावना मात्र नभएर समग्र समाजका भावनाहरू ओकलिरहेका छन् । उनी लेख्छन्, ‘श्रम बेच्ने भनेको हो, पसिनाले पखालेको रुपियाँले खै सास धानेन, मुग्लान भासिऊँ कि सोचेथेँ, पत्याएन साहुले रिन । म लालबहादुर दनुवार किड्नी बेच्ने सुरमा छु ।’
हामीले देखिरहेका छौँ– यी दुःखका पहाडहरू । हामीले देखेर मात्र केही हुने रहेनछ, देख्नेले ती दुःखका पहाडलाई पनि समथर देखेपछि कसको के लाग्दो रहेछ र ? त्यसैले यी लालबहादुका मात्र कुरा होइनन्, समग्र रुपमा थिचिएका भुइँमान्छेहरूको सामूहिक आवाज हो– सपनाको अवयवका कविताहरू ।
उनी आतंकवादलाई रेडिमेड चस्माको व्यापार ठान्छन् । चिन्तनको पिनास बोकेर टहलिरहेका शासकहरूका विचारलाई विचारविहीन देख्छन् । भएका खेतीयोग्य जमिनमा सहर बसेपछि उनी प्रश्न गर्छन्, ‘खान नपाएपछि के खान्छ सहरले ? सहरले ढुंगा खान्छ ?’ गाउँका उब्जाउ जग्गाहरू बाँझो छोडेर, टुक्रिएका जग्गामा घर पलाएपछि सहरले ढुंगा नखाएर के खान्छ त ?
उनी ठान्छन्– यहाँ चुपचापको बिजनेस राम्रैसँग चलेको छ । र, इतिहासवेत्तासँग आग्रह गर्छन्–‘नखोतल्नुहोस् पुराना चिहान, भेटिन सक्छ जबरजस्ती हत्या भएका सत्यका कंकालहरू ।’ वनमारा त हामीले सुनेकै थियो, खनालले घरमाराहरूको बारेमा कवितामार्फत घरमाराका कुण्डली उतार्दै छुचुद्राकाहरूको सहरमा सयर गर्न भ्याएका छन् ।
जनतासम्म राहत लिएर पुगेको हेलिकोप्टरको कथाले वर्तमान नव सामन्तवादीहरूको चरित्र उजागर गरेका छन् । नेताहरूले भनेका शब्दहरू– ‘अब गाउँगाउँमा सिंहदरबार पुग्यो, जनताहरू ढुक्क भए हुन्छ ।’ उनीहरूको भनाइ र गराइमा निकै अन्तर रहेको हामीले महसुस गरेका छौँ, तर कविले त्यसलाई अझै जनताका साँच्चिकैका दुःखलाई नजिकबाट भोग्दै गरेका सूक्ष्म कुराहरूलाई हजार दरबार भेटिएको सूचनामार्फत जानकारी गराएका छन्, याने कवितामार्फत समाचार सम्प्रेषण गरेका छन् ।
सपनामा विभिन्न आश्वासन बाँडेर विपनामा आफैँ मात्र खान पल्केका हाम्रा राजनेताहरूको चरित्रमाथि धेरै शब्दहरू खर्चेका छन् कविले । त्यसका अलावा एउटा कविलाई राष्ट्रले फाँसीको फैसला सुनाएपछि शब्द बिम्बमा कवि अश्रफ फयादलाई सम्झेका छन् ।
कवि प्रकृति प्रेमी पनि छन्, देशका विभिन्न सुन्दर स्थानहरूका बारेमा शब्दहरूका माला उनेका छन् । कुरुप समयमा भोक र सपनाको व्यापार गर्नैहरू विरुद्ध चर्को आवाज उनको कविताहरूमा देखिन्छन् । एउटा मजदुरको पीडा, विदेशिनु परेकाहरूका कथा, आफ्नै माटोमा परदेशी भएका निमुखाहरूको व्यथा सपनाका अवयव कविताभित्र पढ्न सकिन्छ ।
उनी ठान्छन्– कविता लेखिए जस्तो सजिलो छैन देशलाई स्वर्ग वनाउन, परिवारका पेट सिन्चन गर्न । त्यसकारण पनि उनी कविता लेखिरहेका छैनन्, मान्छेका जीवनका सत्य लेखिरहेका छन्– सपनाको अवयवहरूमार्फत । कवि कुनै कल्पनाका पहाड चढेर कविता लेखिरहेका छैनन्, उनले त हाम्रो समाजका कथाव्यथा र भोगाइहरूलाई शब्दमा उनेका छन्, सपनाको अवयवहरूमार्फत ।
उनको नजरमा हाम्रो अस्तित्व बन्धक भइसकेको ठान्छन् । हाम्रा औँलाहरूलाई कसैले किनिसकेको निष्कर्षमा पुगेका छन् कवि । हुन पनि यो सत्य हो । पछिल्ला हाम्रो राजनीतिक क्रियाकलापले पनि यो कुराको प्रमाण देखाइसकेको छ । यसकारण पनि उनका कविताहरू हाम्रा कुव्यवस्था भन्दा पनि कुमान्छेहरूका यथार्थता हुन् भन्ने कुरा सपनाको अवयवहरू पढ्दा स्पष्ट हुन्छ ।
कुन कम्पनीले, कुन बखत किनेछ–
मेरा औँलाका शंख र चक्रहरू
कुन दिन, कसरी ठोकिदिनेछु नामसारीमा ल्याप्चे
मैले म भनी बसेका केही अस्तित्वहरूमा ।
नागरिताको प्रमाणपत्रमा ल्याप्चे मारेको दिन
सोचेथेँ–यो देशसँग म एक पटक फेरि जन्मिएँ
तर, मलाई
यो आंशिक सत्यमात्र लाग्छ आजभोलि
मेरा औँलाहरूलाई
निर्विघ्न स्वतन्त्र बनाएको छैन ।
हामी सधैँ सचेत हुँदै हामीले बाँचेको युगको कुरुप गाथा हाम्रा पिँढीलाई हामीले कसरी सुम्पने भन्ने चिन्ता कविलाई छ । त्यसकारण हामीले हाम्रा शासक वर्गलाई बाटो बिराउन दिनुहुन्न भन्ने मूल सन्देश सुवास खनालका कविताहरूले बोलेका छन् सपनाका अवयवमार्फत ।
देश, समाज र मान्छेका कविताहरू लेख्ने कवि सुवास खनाल नेपाली कवितामा अब्बल नै छन्, समाजप्रति सचेत भएर कविता लेखिरहेका छन् । निडर र निस्वार्थरुपमा कविता कर्ममा होमिएका छन् । मलाई लाग्छ– कुनै पनि सम्वन्धमा स्वार्थ घुस्यो भने सम्बन्ध चट हुन्छ । निःस्वार्थमा केही गुम्दैन, बरु आनन्द र शान्तिको आभाष मिल्छ । त्यस्तै निःस्वार्थ रुपमा कविता कर्ममा लागेका कवि सुवास खनाल त्यसकारण पनि मलाई मन पर्छ । उनका कविताहरू त्यसैले पनि आत्मीय त छँदै छन् ।
कृति : सपनाका अवयव
विधा : कविता
कवि : सुवास खनाल
प्रकाशक : शाब्दिक बुक्स, काठमाडौँ
मूल्य : रु २००